सिड्नीमा ‘महाजात्रा’ ले राख्यो कीर्तिमान

डिसी नेपाल
१७ वैशाख २०८१ १०:५७

काठमाडौं। नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले कीर्तिमान कायम गरेको छ।

यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शो र ‘कबड्डी ४’ ले बनाएको २९ शोको रेकर्ड तोड्दै ३५ शो सम्पन्न भएसँगै ‘महाजात्रा’ ले नयाँ रेकर्ड बनाएको हो। डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले फिल्मको लोकप्रियताले यो सम्भव भएको जनाएका छन्।

सिड्नी प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ। ‘सिड्नीमा अघिल्लो सबै रेकर्ड आजदेखि तोडेको छ। महाजात्राले सिड्नीमात्र नभई अष्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने छ। पछिल्लो समय खडेरी झैँ भएको बजारलाई हराभरा बनाउन फिल्मको भूमिका प्रशंसनीय छ’, प्रदर्शक भट्टराईले भने।

डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीमा मात्र नभई अमेरिका, क्यानाडा, युरोप अन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । उक्त कम्पनिक अनुसार एघार करोड बढीको व्यापार भारत बाहेकका डायस्पोरामा भएको छ ।

कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले डायस्पोरामा कीर्तिमानी व्यापार गरेर सफल बनाएकोमा दर्शकलाई धन्यवाद दिए । ‘हलसम्म दर्शक बनेर आइपुग्नु भएका प्रवासमा रहनुभएका नेपालीको समय र पैसा खेर नगएको प्रतिक्रिया प्राप्त गरेका छौँ, हाम्रो लागि ठूलो सफलता यही हो। प्रवासमा हामीलाई गर्नुभएको विश्वास र दिनुभएको माया अद्भुत छ । हामी कृतज्ञ छौँ, अब विसं २०८२ को दसैँमा फेरी भेट्ने छौँ।’

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा विश्वभर प्रदर्शन भइरहेको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *