पोखरा घटनालाई लिएर कांग्रेसको प्रश्न- देशमा सरकार छ ? कहाँ छ ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटनाले राज्यको अकर्मण्यता पुष्टि भएको बताएको छ ।
शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञीप्ती जारी गरी उक्त घटनाले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो सङ्ख्यामा एकसाथ निधनले सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएका छन्।
कांग्रेसले उक्त घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । प्रवक्त शर्माले जनताको मृत्यु यसरी कहालीलाग्दो ढङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको टिप्पणी गरेका छन्। कांग्रेसले देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको भएको उल्लेख गर्दै सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका घटनाहरुको जिम्मेवार पनि सरकार नै हुनुपर्ने जिकिर गरेको छ ।
अक्सिजनको अभावमा एकसाथ जीवन गुमाएका छ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युुपश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।







डिसी नेपाल








Facebook Comment