बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर

डिसी नेपाल
१६ जेठ २०७८ १२:१३
116
Shares

राँझा। कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ। दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ।

गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै बाहिरी जिल्लाका रहनुभएको छ भने पछिल्लो २४ घण्टामा बाँकेका बिरामीको मृत्यु शुन्य रहेको छ।

अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका २८८ को मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ को उपचारका क्रममा मृत्यु भएको छ।

पछिल्लो पटक गएरातिदेखि आज बिहानसम्म यहाँका अस्पतालमा भर्ना भएका दाङ, बर्दिया र सल्यानका चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिलाको गएराति ११ः०० बजे मृत्यु भएको छ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ निवासी ४२ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, सल्यान बागचौर नगरपालिका– ८ निवासी ६१ वर्षीय पुरुषको बिहान ५ः३० बजे र बर्दिया बढैयाताल गाउँपालिका– ५ निवासी ५८ वर्षीया महिलाको आज बिहान ६ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *