उपप्रधानमन्त्रीको शपथ खानासाथ ‘देश टुक्र्याउने’ एजेण्डाको वकालत

डिसी नेपाल
२२ जेठ २०७८ ६:२२

काठमाडौं। नेपाल सरकारको उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री पदमा शपथ खाएकै दिन जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुक टुक्र्याउने एजेण्डाको वकालत गरेका छन्।

नेपाल देश र नेपाली राष्ट्रियता उल्लेख भएको नेपालको हालको संविधानअन्तर्गत शपथ ग्रहण गरेसँगै मुलुक टुक्र्याउने र संविधानको धज्जी उडाउने गरी उनले देशविरोधी उद्धोष सार्वजानिक गरेका हुन्। मुलुकको संविधानको धज्जी उडाउँदै अपमान गरेर सरकारमा भाग लिन कुनै पनि राजनीतिक व्यक्तिलाई उसको नैतिकताले दिँदैन।

राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ पद तथा गोपनीयताको शपथपछि राति कार्यभार सम्हाल्न शहरी विकास मन्त्रालय पुगेका महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलनको तयारीमा लागेको बताएका थिए।

महतोको यो हुँकारले प्रधानमन्त्री केपी शर्मा ओली पनि निरीह भइसकेको संकेत गरेको छ। देशविरोधी अभिव्यक्ति दिनेले त्यो देशको शासनमा एक मिनेट पनि बस्न पाउनु हुँदैन। यसरी मुलुकको एकता र राष्ट्रिताबिरुद्ध हुँकार गर्ने अपराधमा प्रधानमन्त्री ओलीले महतोलाई बर्खास्त गर्ने आँट गर्लान्?

कुनैबेला माओवादीले ढाडमा टेकेर टाउकोमा हान्ने अभियान चलाएजस्तै महतोले पनि कथित मुक्ति आन्दोलनको तयारीका लागि सरकारमा सामेल भएको प्रष्ट बताएका छन्। पदभार ग्रहण गर्दै उनले भनेका छन्,‘बहुराष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काममा लागि सरकारमा सहभागी भएका हौं।’

के हो बहुराष्ट्रिय राज्य ?

एउटै देशभित्र धेरैवटा राष्ट्रियताको कल्पना बहुराष्ट्रिय राज्यमा गरिएको हुन्छ। नेपालजस्तो सानो मुलुकमा बहुराष्ट्रिय राज्यको अवधारणा मुलुक टुक्र्याउने अवधारणा हो। कुनै पनि एक राष्ट्र हुनका लागि त्यसको राष्ट्रियता पनि एउटै हुनुपर्छ। राज्य हुनका लागि चाहिने न्यूनतम मापदण्ड नै एउटै राष्ट्रिता हो, एउटा राज्यभित्र अनेकौं राष्ट्रियता कल्पना गर्न नसकिने विषय हो।

तर, जनता समाजवादीका नेताहरु विगत केही बर्षदेखि नै नेपाल राष्ट्रभित्र बहुराष्ट्रियताको वकालत गर्दै आएका छन्। नेपालको राष्ट्रियता नेपाली हुन सक्दैन भन्ने उनीहरुको मागको सिधा अर्थ हो। हो, एउटा राष्ट्र वा राज्यभित्र धेरै जाति, जनजाति, भाषा भाषी र अनेक बर्गर भौगिलिक क्षेत्रका जनताको बसोबास हुन्छ र राज्य यी सबैको समुच्चय रुप हो।

यो कुरा महतोले नबुझेका होइनन् तर बुझेर पनि नेपाल राज्यलाई एकजुट हुन नदिने र मधेशलाई छुट्याएर छुट्टै देश बनाउने षड्यन्त्रअन्तर्गत उनको भनाइ आएको बुझ्न गाह्रो छैन।

मुलुक टुक्र्याउन मुक्ति आन्दोलनको तयारी गर्न सरकारमा सहभागी बनेको खुल्लम खुल्ला छाती फुकाएर भन्ने आंटले राज्यका राष्ट्रिय अंगहरु कमजोर भइसकेको संकेतमात्र गर्दैन बरु ती अंगहरुमागि अब विभाजनकारी एजेण्डा बोक्नेहरुले शासन गर्छन् भन्ने पनि प्रष्ट पार्दछ।

महतोको यो हुँकारले प्रधानमन्त्री केपी शर्मा ओली पनि निरीह भइसकेको संकेत गरेको छ। देशविरोधी अभिव्यक्ति दिनेले त्यो देशको शासनमा एक मिनेट पनि बस्न पाउनु हुँदैन। यसरी मुलुकको एकता र राष्ट्रिताबिरुद्ध हुँकार गर्ने अपराधमा प्रधानमन्त्री ओलीले महतोलाई बर्खास्त गर्ने आँट गर्लान्?

एजेण्डमा सहकार्य नभई सत्तामा साझेदारी हुन सक्दैन। महतोलाई बर्खास्त नगर्ने हो भने ओलीले बहुराष्ट्रिय राज्य बनाउने महतोको हुंकारको जवाफ दिनुपर्ने हुन्छ वा सो एजेण्डामा सहमति जनाएको ठहरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *