ट्रम्पको फेसबुक खाता २ वर्षका लागि निलम्बन, ट्रम्पले भने ‘यो साढे ७ करोड जनताको अपमान’

डिसी नेपाल
२२ जेठ २०७८ १५:१२
276
Shares

काठमाडौं। सामाजिक संजाल फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई २ वर्षको लागि निलम्बन गरेको छ । ७ जनवरी २०२१ देखि २ वर्षको अवधि गणना हुनेछ । त्यही दिन ट्रम्पको खाता पहिलो पटक निलम्बन गरिएको थियो । फेसबुकका ग्लोबल अफेयर्स उपाध्यक्ष निक क्लेगले शुक्रबार एक ब्लग पोस्टमार्फत यसको जानकारी दिएका हुन् ।

फेसबुकका अनुसार ट्रम्पले अब ७ जनवरी २०२३ सम्म आफ्नो फेसबुक खाता चलाउन पाउने छैनन् । अर्थात २०२२ को नोभेम्बरमा हुने मध्यावधि निर्वाचनका बेला पनि ट्रम्पले फेसबुक चलाउन पाउने छैनन् । ट्रम्पले फेसबुकको यो कारवाहीलाई आफना साढे ७ करोड समर्थकको अपमान भएको बताएका छन् । यी साढे ७ करोड ती व्यक्ति हुन् जसले २०२० को निर्वाचनमा ट्रम्पलाई भोट दिएका थिए ।

ट्रम्पले आफूहरुलाई सेन्सर गरेर वा जबरजस्ती चुप गराएर बाहेक गर्न नसकिने बताउँदै आफूहरुले फेरि जित्ने दावी गरेका छन् । उनले आफ्नो देशले यो बेइज्जतीलाई अझै धेरै सहन नसक्ने बताए । फेसबुकले ट्रम्पको खाता कहिले सुचारु गर्ने भन्नेबारे विशेषज्ञसँग सल्लाह गरेर निर्णय गरिने बताएको छ । यसका लागि हिंसा र अशान्ति फैलाउने घटनालाई ध्यानमा राखिनेछ ।

अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामपछि जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा हिंसा भएको थियो । यस क्रममा ट्रम्पमाथि आफ्ना समर्थकलाई भड्काएको आरोप लागेको थियो । यही कारण भोलिपल्ट जनवरी ७ मा सामाजिक संजालहरुले ट्रम्पमाथि कारवाही गरेका थिए । फेसबुककै कम्पनी इन्स्टाग्राम र गुगलको कम्पनी युट्युबले पनि ट्रम्पको खाता निलम्बन गरेका थिए । ट्वीटरले त ट्रम्पलाई सधैंका लागि प्रतिबन्ध लगाइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.