कोरोनाले मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरियो, श्राद्धको अघिल्लो दिन जिउँदै फर्किइन्
काठमाडौं। कोरोनाभाइरसका कारण ‘मृत्यु’ भएर अन्तिम संस्कार गरिसकिएकी महिलाको काजकिरिया सकेर श्राद्ध गर्ने अघिल्लो दिन ती महिला जिउँदै फर्किएपछि परिवार र गाउँलेहरु चकित परेका छन् । ती महिलाको मृत्यु भएको जानकारीसहित अस्पतालले शव हस्तान्तरण गरेपछि परिवारले उनको अन्तिम संस्कार गरिसकेका थिए र उनको काजकिरिया समेत गरिरहेका थिए । तर, अचानक महिला जीवितै फर्किइन् ।
भारतको आन्ध्र प्रदेशकको कृष्ण जिल्लाको जग्गैयापेटकी मुक्त्याला गिरिजाम्मा नामकी ती महिलालाई कोरोनाभाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो । खासमा ६५ वर्षका मुक्त्याला गड्डाया र उनकी पत्नी गिरिजाम्मा सामान्य किसान हुन् । उनीहरु आफ्नो थोरै जमिनमा तरकारी खेती गर्छन् र नजिकैको बजारमा बेच्छन् । द न्यू इण्डियन एक्सप्रेसका अनुसार मे २ का दिन गिरिजाम्मा र उनका छोरा ३६ वर्षका एम रमेशले कोरोनाभाइरस परीक्षण गर्न नमूना दिएकोमा दुवैको रिपोर्ट पोजेटिभ आएको थियो ।
सुरुमा उनीहरु अस्पताल गएनन् तर एक हप्तापछि रमेशलाई खम्मनको एक निजी अस्पतालमा भर्ना गरियो । गिरिजाम्मालाई विजयवाडा गभर्नमेन्ट जनरल हस्पिटलमा भर्ना गरियो । गिरिजाम्मालाई कुर्नको लागि उनका पति बसेका थिए । मार्च १५ मका दिन गिरिजाम्मालाई अर्को वार्डमा सारियो तर यसबारे उनका पतिलाई जानकारी दिइएको थिएन । जब उनी आफ्नी पत्नीलाई हेर्न गए उनले पत्नीलाई पहिले राखिएको बेडमा देखेनन् ।
त्यसपछि उनले पत्नीको बारेमा सोधपुछ गर्न थाले । सोधपुछमा एक डाक्टरले उनकी पत्नीको मृत्यु भइसकेको बताए । डाक्टरले उनलाई उनकी पत्नीको लाश अस्पतालको मुर्दाघरमा सारिएको समेत बताए । प्रोटोकलअनुसार शव प्लास्टिकमा प्याक गरिएको थियो र गिरिजाम्माको परिवारलाई टाढैबाट देखाइयो । टाढैबाट देखेका परिवारले पनि शव गिरिजाम्माको होइन भनेर ठम्याउन सकेनन् । गिरिजाम्माको परिवारलाई अर्कै महिलाको शव दिइयो ।
परिवारका अनुसार गिरिजाम्मालाई जीवितै आएको देखेपछि परिवार चकित परेका थिए । परिवारलाई आफूहरुले कसको शवको अन्तिम संस्कार गरे भन्ने थाहा छैन । गिरिजाम्मा परिवारसँग भेटेपछि खुसी छिन् तर उनलाई अहिलेसम्म आफ्ना छोरा कोरोनाभाइरसका कारण मरिसकेको भन्नेबारे जानकारी दिइएको छैन । उनका छोरा रमेशको मे २३ का दिन उपचारका क्रममा मृत्यु भइसकेको छ ।







डिसी नेपाल








Facebook Comment