प्रदेश १ को बजेट अधिवेशन शुरु

डिसी नेपाल
२४ जेठ २०७८ २३:१८

विराटनगर । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशन आजबाट शुरु भएको छ । बैठकमा आर्थिक कार्यविधि ऐन, २०७४ को दोस्रो संशोधन सम्बन्धी अध्यादेश सभामा आज पेश भएको छ । सो अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले पेश गरेका थिए ।

यसैगरी, प्रदेशसभा नियमावली, २०७४ को उपनियम निलम्बन सम्बन्धी प्रस्ताव बहुअतले पारित भएको छ । सो प्रस्ताव प्रदेशसभा सदस्य विमलकुमार कार्कीले पेश गरेका थिए ।

बैठकको प्रारम्भमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएका थिए ।

सभामा प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपा(एमाले) संसदीय दलका नेता शेरधन राईले कोभिड–१९ को दोस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकार गम्भीर रहेको बताएका छन् । कोभिड–१९को पहिलो र दोस्रो भेरियन्टका कारण जनजीवन, अर्थतन्त्र र उद्योग व्यापार सबै क्षेत्रमा गम्भीर असर परेको जानकारी दिँदै मुख्यमन्त्री राईले कोभिडबाट हामीले धेरै पाठ सिक्यौँ र यसैको माध्यमबाट नयाँ आधार खडा गर्ने कुरामा जोड दिए । उनले सरकारले सदन छल्न नचाहेको प्रष्ट पार्दै छोटो समयममा नै बजेटको पूर्व छलफल सही ढङ्गले हुने धारणा राखे । उनले पहिलो चरणमा प्रदेशमा एक लाख ४५ हजार ४०० डोज खोप आएको र दोस्रो चरणमा ५२ हजार नागरिकले खोप लगाई सकेको बताउँदै खोप लगाउने कुरामा कतै पनि अनियमितता नभएको प्रष्ट पारे । उनले कोभिड उपचारमा कोशी अस्पताल, मेची अस्पताल भद्रपुर र कोभिड–१९ अस्पताल विराटनगरले राम्रो काम गरिरहेको जानकारी दिँदै अब आउने बजेट यथार्थपरक आउने कुरामा जोड दिए । उनले प्रदेशको नामकराण सरकारको कारणले नभई राजनीतिक दलकै कारण सभामा पेश हुन नसकेको भन्दै अब नामकरणको प्रस्ताव सदनमा छिट्टै पेश हुने धारणा राखे ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु आर्थिक वर्षका लागि रातो किताबमा उल्लेखित योजनाका बजेट कहाँ हरायो भन्ने प्रश्न गर्दै सरकारबाट आर्थिक अपराधको काम भएको छ भने । उनले चुरे दोहन गरेर बजेट घाटा कम हुन्छ भत्रु गलत हो भन्दै सरकारले ल्याउने आगामी बजेटको बृहत छलफल गर्नुपर्छ भने ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल नगरेकोमा आपति जनाए । उनले कोभिड–१९ को दोस्रो लहरमा सरकार नदेखिएको उल्लेख गर्दै सरकारले जनतालाई राहत दिनु पर्ने कुरामा जोड दिए।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले जनताले कोभिडबाट बच्न खोप नपाएको, जनतामा खाद्यात्रको अभाव देखिएको जानकारी दिँदै कोरोनाबाट आमनागरिकलाई बचाउन सरकार गम्भीर हुन नसकेको आरोप लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राई र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले प्रदेश सरकार कमजोर भएमा भ्रष्टाचार मौलाउने भन्दै न्यायालयमा खुल्ला राजनीति गर्न नहुने धारणा राखेका थिए । उनीहरुले सरकारले कोभिडबाट आमनागरिकलाई जोगाउन योजनाबद्ध लाग्नुपर्ने कुरा जोड दिएका थिए।प्रदेश सभाको अर्को बैठक जेठ २५ गते १२ः३० बस्ने सभामुख भण्डारीले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *