बाबा रामदेवले पठाएको ‘कोरोनाको औषधि’ वितरणमा नेपालले रोक लगायो
काठमाडौं। योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले ‘उपहार’ स्वरुप पठाएको कथित कोरोनाको औषधि वितरणमा नेपालले रोक लगाएको छ । आयुर्वेद तथा वैकल्पिक औषधि विभागले पतञ्जलीको तर्फबाट पठाइएका कोरोनिल किट वितरणमा रोक लगाएको विभागका सूचना अधिकारी डा. मुनकर्ण थापाले बताए । ‘हामीलाई प्राप्त कोरोनिल किट तत्काल वितरण नगर्ने गरी होल्ड गरेका छौं’ डा. थापाले डिसीनेपालसँग भने ।
डा. थापाका अनुसार पतञ्जलीको तर्फबाट एउटा कार्टुनभित्र ३२ वटा कोरोनिल किट रहेका ५० कार्टुनमा गरी कूल १६ सय कोरोनिल किट प्राप्त भएका थिए । किट प्राप्त भएपछि यसको जाँचको लागि आयुर्वेद विभागलाई अनुरोध भइआएकोमा यसको जाँच गरी यो आयुर्वेदिक औषधि भएको तर यसले कोरोना निको नै पार्छ भन्ने कुरा पुष्टि गर्न नसकिने विभागका विशेषज्ञले बताएका थिए ।
बाबा रामदेवले भने यो औषधिले कोरोना निको पार्ने दावी गरेका थिए । बाबा रामदेवको दावीपछि भारतको इण्डियन मेडिकल एसोसिएसनले पनि यसको प्रभावकारिता पुष्टि गर्न भनेको थियो । पतञ्जलीले यो पूर्ण प्रभावकारी भएको पुष्टि गर्न नसकेपछि आइएमएले पनि यसलाई स्वीकृति दिएको छैन । नेपालमा पनि आयुर्वेद विभागले यो कोरोनिल किट चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्रै प्रयोग गर्न सकिने भनेको थियो ।
चिकित्सकको निगरानीमा मात्रै प्रयोग गरिनुपर्ने यो कोरोनिल किट मानिसहरुले बजारबाट सिधै किनेर प्रयोग गर्न सकिने जोखिम भएको तथा पतञ्जलीले यो किट नेपाल पठाउँदा औषधि व्यवस्था विभागबाट समेत अनुमति नलिएको पाइएकोले यसलाई तत्काल प्रयोगमा रोक लगाइएको डा. थापाले जानकारी दिए । ‘अहिलेलाई यो चिकित्सकको निगरानीमा समेत प्रयोग नगर्ने गरी रोकिएको छ’ उनले भने ।
कोरोनिल किटलाई आधिकारिक रुपमा प्रतिबन्ध लगाइएको भने होइन । ‘यसलाई आयात गर्दा प्रक्रिया नपुगेको र यसले कोरोना निको पार्छ नै भन्ने पर्याप्त प्रमाण नभएका कारण यसलाई तत्कालको लागि होल्ड गरिएको हो’ डा. थापाले डिसीनेपालसँग भने ‘यसलाई आधिकारिक रुपमा प्रतिबन्ध लगाइएको भने होइन । यसलाई ‘होल्ड’ गरिएको हो ‘ब्यान’ गरिएको होइन ।’







डिसी नेपाल








Facebook Comment