तमुः समाज बेलायतद्वारा ११ लाख २५ हजार सहयोग
लण्डन। बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ।
समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु पाँच लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई रु तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आउनुभएकी राधा पौडेलको फाउण्डेशनलाई रु तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए ।
तमुः समाज युकेले चन्दामार्फत रकम सङ्कलन गरेको हो। जसको प्रचार–प्रसार अभियान सञ्चालनमा संस्थापक अध्यक्ष थिए। बेलायतमा कोरोना देखिएपछि समाजले यहाँको सरकारी अस्पताललाई एक हजार पाउण्ड बराबरको पिपिइसमेत सहयोग गरेको थियो।
त्यस्तै बेलायतमा रहेका नेपाली वृद्धवृद्धालाई पिपिइ वितरण, नेपाली विद्यार्थी र कोरोनाका कारण जागिर गुमाएका करिब ३०० जनालाई खाद्यान्न वितरणसमेत गरेको थियो।
समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई विशेष महत्वसहित भव्यताकासाथ मनाउँदै आएको छ।
यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैँ सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष गुरुङले बताए।
नेपालमा कोरोना देखिएसँगै समाजले काठमाडौँ र पोखरामा गरी दुई ठाउँमा बेरोजगारलाई रु दुई लाख बराबरको खाद्यान्न वितरण गरेको र पटक–पटक गरी कोरोना पीडितका लागि हालसम्म नेपालमा मात्रै रु ३० लाख बराबरको सहयोग गरेको संस्थापक अध्यक्ष गुरुङले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment