राष्ट्रपतिले अनुरोध गरेको खोप कहिले आउँछ?
काठमाडौं। कोरोनाको दोस्रो लहरले नेपालमा अहिले धेरै मानिसको दैनिकी असहज बनेको छ। स्वास्थ्य मन्त्रालयको सोमबारसम्मको तथ्याङक अनुसार अहिलेसम्म ६ लाख ६७ हजार ७८ जना संक्रमित भइसकेका छन् भने ५ लाख २७ हजार १ सय ११ निको भएका छन्। ८ हजार ३ सय ६६ जनाको मृत्यु भइसकेको छ।
यो महामारीलाई रोक्ने प्रभावकारी माध्यम खोप नै हो। नेपाल सरकारले वर्गिकरण गरेको विभिन्न क्षेत्रका कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, पत्रकार, जेष्ठ नगरिक, सांसद, मन्त्री र केही पहुँचमा भएका मानिस बाहेक अन्य नागरिकको खोपकोे सुनिश्चिता छैन।
नेपाल सरकारले दशैं अगाडि सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने प्रतिबद्धता जनाएको छ। तर मुलुकभित्रको राजनीतिक किचलको कारण नागरिकले समयमै खोप पाउने कुरामा प्रसस्त आशंका गर्ने ठाउँहरु छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११ गते भारतीय समकक्षी रामनाथ कोविन्दलाई कूटनीतिक माध्यमबाट पत्राचार गर्दै कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेको थिइन्। नेपाल सरकारले खोप किन्नको लागि एक भारतीय औषधि कम्पनीलाई मार्च महिनामै रकम भुक्तानी गरिसकेको छ।
यस अघि भारत सरकारले १० लाख डोज खोप अनुदान दिएको थियो। त्यसपछि नेपाल सरकारले २० लाख डोज खोप किन्नका लागि रकम भुक्तानी गरेको थियो। त्यसमध्ये १० लाख खोप आईसकेको छ भने १० लाख आउन बाँकी छ। उक्त कम्पनीले आफ्नै देशको नागरिकलाई आवश्यक परेको भन्दै केही समय दिन नसक्ने जनाएको थियो।
राष्ट्रपति भण्डारीले समकक्षी कोविन्दलाई पत्राचार गर्दै भुक्तानी भएको उक्त खोप र आवश्यक थप खोप पठाउने पहल गरिदिन अनुरोध गरेकी थिइन्।
त्यसैगरि राष्ट्रपति भण्डारीले कोरोना विरुद्धको खोप उपलब्ध गराउन बेलायती महारानी एलिजावेथलाई पनि पत्राचार गरेको थिइन्। उनले बेलायतको विदेश मन्त्रालयमार्फत ३० मेमा पठाइएको नेपाली राजदूतावासको विज्ञप्तिमा उल्लेख छ। उनले कुटनीतिक पहल मार्फत चिनियाँ समकक्षी सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो वाइडेनलाई पनि खोप उपलब्ध गराईदिन अनुरोध गरेकी थिइन्।
उक्त अनुरोध अनुसार तत्काल खोप आइहाल्ने अवस्था भने रहेको छैन। तर अमेरिका,बेलायत, डेनमार्क जस्ता देशहरुले पत्रचार गरेपछि नेपाललाई कोभ्याक्स खोप दिने प्रतिक्रिया जनाएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बताए।
उनले भने, ‘कहिले र कति? खोप दिने भन्ने विषय अहिलेनै टुङ्गो लागेको छैन। कूटनीतिक माध्यमबाट छलफल भइराखेको छ।’ भारतलाई रकम भुक्तानी गरिसकेर पनि आउन बाँकी १० लाख खोप चै कहिले आउँछ ? भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा उच्चस्तरिय पहल भइराखेको छ। आजै पनि यो विषयमा छलफल भएको थियो। मलाई लाग्छ चाँडै आउँछ।’







डिसी नेपाल








Facebook Comment