ब्रोड पिक हिमपहिरो अपडेट: ख्यातिप्राप्त नेपाली पर्वतारोहीको निधन
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएका आरोहीहरूमध्ये दुई जनाको निधन भएको एल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ।
निधन हुनेमा नेपालका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (‘युक्ता’) र ओमानकी आरोही नधिरा अल हार्थी रहेका छन्।
एल्पाइन क्लबका अनुसार ओमानी आरोही नधिराको शव फेला पारिसकिएको छ र हेलिकप्टरमार्फत स्कर्दू लैजाने काम भइरहेको छ।
यस्तै, नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्ता’ को शवलाई पनि तल ल्याउने र ढुवानी गर्ने आवश्यक प्रबन्धहरू मिलाइँदै गरिएको क्लबले जनाएको छ।
इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसनबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गाइड पुरबहादुर गुरुङ (‘युक्ता’) विश्वका सबै १४ वटा अग्ला (८,००० मिटरभन्दा अग्ला) हिमाल आरोहण गर्ने अभियानको अन्तिम चरणमा थिए।
गत वसन्त ऋतुमा मात्रै युक्ताले नेपालका तीन वटा आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण गरेका थिए। सो यामसम्ममा उनले १० पटक सगरमाथा र १२ वटा आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण गरिसकेका थिए।
यसका साथै सन् १९२४ मा सगरमाथा आरोहणका क्रममा जर्ज मेलोरीसँगै बेपत्ता भएका बेलायती आरोही एन्ड्रयु ‘स्यान्डी’ इरभिनको सय वर्ष पुरानो जुत्ता फेला पार्ने ऐतिहासिक टोलीमा पनि युक्ता सहभागी थिए।
एल्पाइन क्लब अफ पाकिस्तानले बाँकी बेपत्ता आरोहीहरूको पहिचान आधिकारिक जानकारी प्राप्त हुनासाथ तुरुन्तै सार्वजनिक गरिने जनाएको छ।
संस्थाले कुनै पनि अपुष्ट खबर वा अफवाह नफैलाउन र आधिकारिक सूचनाको मात्र प्रतीक्षा गर्न विश्वभरका सञ्चारमाध्यम तथा पर्वतारोहण समुदायलाई आग्रह गरेको छ।
हिमपहिरोमा परी अझै पनि बेपत्ता रहेका अन्य आरोहीहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ। एल्पाइन क्लबले यस कठिन समयमा शोक सन्तप्त परिवारजन र समग्र विश्वव्यापी पर्वतारोहण समुदायप्रति गहिरो समवेदना प्रकट गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment