देशको नेतृत्व गर्नुपर्ने समयमा कांग्रेसको निराशाजनक भूमिका

जगदीश दाहाल
२ असार २०७८ ९:३२

देशको राजनीति अप्ठ्यारो मोडतर्फ अगाडि बढ्दै गर्दा देशकै पुरानो र विश्व मञ्चमा विश्वास बनाएको दल नेपाली कांग्रेसको भूमिका निराशाजनक देखिएको छ।

देशलाई नेतृत्व गरेर अगाडि बढ्नुपर्ने समय आएका बेला चुप लागेर बस्ने र समय घर्किइसकेपछि नसुहाउने गठबन्धन गरेर बसेको नेपाली कांग्रेसबाट नेपाली जनताले प्रभावकारी, सशक्त र नेतृत्वदायी भूमिका खोजिरहेका छन्।

नेपाली कांग्रेस मासबेस राजनीतिक दल हो जसको क्रियाशील सदस्यतामात्रै आजको दिनमा दश लाख पुगिसकेको छ। तर, यो ठूलो जनसमूहलाई परिचालन गर्नु त परको कुरा यो शुभचिन्तक समूहको चाहना समेत बुझ्न नखोज्ने कांग्रेस नेतृत्वको शैली चित्तबुझ्दो छैन। नेपाली काग्रेस आफैमा ठूलो गौरवपूर्ण इतिहास बोकेको राजनैतिक दल हो।

विश्वका राजनीतिक शक्तिहरुले विश्वास गरेको एउटा सशक्त लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस विश्व मञ्चमा सबैभन्दा प्रभावकारी नेपाली राजनैतिक शक्ति हो। इतिहासमा कहिल्यै नदबेको र नझुकेको कसैसँग मोलमोलाइ गरेर सम्झौता नगरेको कांग्रेस त्यही इतिहासका कारण अन्तर्राष्ट्रिय राजनीतिक शक्तिमाझ विश्वसिलो बनेको हो।

पञ्चायती व्यवस्थामा राजाले सम्झौता गरेर मुलुक चलाउने प्रस्ताव गर्दा राजासँग लोकतन्त्र र जननिर्वाचित सरकार, संसदीय प्रणालीको अडान राख्ने शक्ति नेपाली कांग्रेस नै हो। संसदीय प्रजातन्त्र निःशर्त राजाले स्वीकार गर्नुपर्छ भनेर पञ्चायत व्यवस्था विरुद्ध लड्दै आएको तथा २००४ सालदेखि आजसम्मका सबै राजनीतिक घटनामा मुलुकबासी जनतालाई नेतृत्व दिँदै आएको, लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस आज किन दिशाविहीन देखिन लाग्यो? यो प्रश्नको उत्तर खोज्नैपर्ने भएको छ।

नेपाली कांग्रेससामु कहाँ पुग्ने भन्ने किन कुनै लक्ष्य छैन? स्थापनाको सात दशक बित्दासम्म आफ्नो निश्चित कार्यदिशा, उद्देश्य, लक्ष्य लिएर अगाडि बढिरहेको कांग्रेस आज किन अचानक दिशाविहीन बन्न पुग्यो ? नेपाली कांग्रेस जनताको म्याण्डेट विपरित अगाडि सर्ने राजनीतिक शक्ति होइन। तर किन अहिले नेपाली कांग्रेसका नेता नेपाली जनताको म्याण्डेट विपरित सत्ताका लागि असफल प्रयत्न गर्दैछन्?

कांग्रेस आज जुन गठबन्धनमा छ त्यो उसको लागि सुहाउँदो गठबन्धन हो? संसदमा एक सांसद सदस्यमात्रै भएको राजनीतिक दल र सत्तासीन नेकपा एमालेको विद्रोही गुटका नेता र तत्कालीन नेकपाबाट अलग्गिएको माओवादी केन्द्र जस्ता दल र समूहसँग नेपाली कांग्रेसले गठबन्धन गर्नु अनि समान भोटिङ राइटको गठबन्धन सदस्य बन्नु दुर्भाग्यपूर्ण हो। के नेपाली कांग्रेसको हैसियत एमालेको विद्रोही समूहको बराबरी हो?

यो नेपाली कांग्रेसका नेताले नेपाली कांग्रेसलाई सुहाउने काम गरिरहेका छैनन्। नेपाली कांग्रेस अहिले जुन गठबन्धनमा छ र जे गरिरहेको छ त्यो उसका मतदातालाई चित्त बुझिरहेको छैन। जुन समयमा कांग्रेसले गठबन्धन गरेर सरकारको नेतृत्वको लागि अघि सर्नुपर्ने थियो त्यो समयमा चासो नदेखाएको पनि जनतालाई चित्त बुझिरहेको छैन। नेपाली कांग्रेस किन आज गठबन्धनमा छ?

र, त्योभन्दा पनि महत्वपूर्ण कुरा के कांग्रेस आज जुन गठबन्धनमा छ त्यो उसको लागि सुहाउँदो गठबन्धन हो? संसदमा एक सांसद सदस्यमात्रै भएको राजनीतिक दल र सत्तासीन नेकपा एमालेको विद्रोही गुटका नेता र तत्कालीन नेकपाबाट अलग्गिएको माओवादी केन्द्र जस्ता दल र समूहसँग नेपाली कांग्रेसले गठबन्धन गर्नु अनि समान भोटिङ राइटको गठबन्धन सदस्य बन्नु दुर्भाग्यपूर्ण हो।

के नेपाली कांग्रेसको हैसियत एमालेको विद्रोही समूहको बराबरी हो? जुन समूहका नेताहरुले आफ्नो मूल पार्टी एमाले त्याग्ने हिम्मत गरिरहेका छैनन् तिनै नेताहरुलाई समान हैसियत कांग्रेसले किन दिइरहेको छ। दिनभरी भौंतारिएका यी नेताहरु बेलुका आफ्नै घर फर्किए भने त्यो बेला कांग्रेसले के गर्छ?

नेपाली कांग्रेसका वर्तमान नेताले यी आठ दश लाख क्रियाशील सदस्य, नेपाली कांग्रेसका कार्यकर्ता, शुभचिन्तक, पेशगत व्यावसायी बुद्धिजिवीहरु, भातृ तथा भगिनी संगठनहरु यी सबका प्रति आज विश्वासघात गरेको भान भएको छ । नेताको गतिविधिले यी सबै शुभचिन्तकको मन दुखाएको छ र नैराश्यता सृजना गरेको छ।

आम नेपाली कांग्रेससँग सम्बद्ध कार्यकर्ता, जनताको बुझाइ र भनाइ अझै पनि एउटै छ – नेपाली कांग्रेस आफैंमा सक्षम छ, मासबेस राजनीतिक शक्ति हो, मासबेस लोकतान्त्रिक शक्ति हो। विश्वले पत्याएको एकमात्रै लोकतान्त्रिक दल हो। यस्तो दलले आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको आधारमा अगाडि बढ्नुपर्छ। आफ्नो बाटो हिँड्नुपर्छ, जनसमक्ष जानुपर्छ।

कसैसँग गठबन्धन गर्न आवश्यक छैन। राजनीतिमा अगाडि एक दुई दशक सत्ता बाहिर वा सत्तामा बसेपनि राजनीतिक रुपले मुलुकको नेतृत्व लोकतान्त्रिक विचारले नै गर्छ। नेपाली कांग्रेसले नै गर्छ। अहिलेको राजनीतिक परिदृष्यले पनि त्यही देखाएको छ।

त्यसो हुँदा नेपाली कांग्रेसले हाम्रा दुई छिमेकी भारत र चीनसँगको मित्रवत् सम्वन्धलाई समयअनुसार परिस्थिति अनुसार असल सम्बन्ध बनाउने र कायम राख्ने त्यसलाई निरन्तरता दिने वा दुवै देशको विश्वास जित्ने दाताको राष्ट्र र शक्ति राष्ट्र, ससारका सबै मित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउने र लोकतान्त्रिक संसदीय प्रणालीलाई सुदृढ बनाउँदै संविधानसभाले बनाएर जारी गरेको नेपालीको संविधान २०७२ को सवल कार्यान्वयनका लागि आउने संसदीय निर्वाचनमा कसैसँग गठबन्धन र सिट तालमेल नगरी नेपाली कांग्रेस एक्लै अगाडि बढ्न र जनसमक्ष जानुपर्छ।

त्यसका लागि नेपाली कांग्रेसलाई उर्जा दिनका लागि सबै भातृ संगठनहरुको लोकतान्त्रिक विधिद्वारा महाधिवेशन सम्पन्न गर्न र कांग्रेसको वडादेखि केन्द्रसम्मका सबै महाधिवेशन सम्पन्न गर्न तथा पार्टी र नेतृत्वले नयाँ नेतृत्व र उर्जा लिएर आगामी संघीय सदंसदको निर्वाचनमा आफूलाई प्रचण्ड बहुमतका साथ निर्वाचित भएर देश हाँक्ने अठोट र आँटका साथ अगाडि बढ्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *