प्रहरीका जिल्लास्थित कमाण्डरलाई आईजीपी थाापको निर्देशनः सौहार्द वातावरण बनाएर काम गर्नू

डिसी नेपाल
१० असार २०७८ १९:३१

काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सुरक्षा समन्वय कायम गरी नेतृत्वदायी भूमिका खेल्दै परिस्थिति अनुसार व्यावसायिक रुपमा तयार भई पूर्ण सुझबुझका साथ काम गर्नुपर्ने बताएका छन्।

हालै सरुवा भएका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन्। जिल्ला कमान्डरको आधारभूत भूमिका बहन गरी समग्र जिल्लामा सुरक्षाको अनुभूति गराई सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुनुपर्ने उनले निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड(१९ को संक्रमण जस्तो विषम परिस्थितिमा विपद् व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आ(आफ्नो तर्फबाट सक्रिय भई महत्त्वपूर्ण योगदान पुर्‍याउन आवश्यक योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिए। आर्थिक अनियमितताविरुद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोवल उच्च राख्न प्रहरी नेतृत्वले व्यवहार, सुविधा, ड्युटी, विदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार परिवर्तन गरी आम नागरिकको दैनिकीप्रति व्यवहारिक बनी सुख दुःख बुझ्ने वातारण बनाउन कुशल व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताए। जघन्य अपराधका साथै सार्वजनिक सरोकार र चासो लगायतका घटना अनुसन्धानमा सफलता पाउन गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखी नेतृत्व स्वयं सतत् रुपमा लाग्नुपर्नेमा उनले जोड दिए। सीमा अपराध नियन्त्रण तथा आपराधिक गतिविधि निस्तेज पार्न सम्बन्धित निकायहरूसँग आपसी समन्वय गर्नुपर्ने उनले चर्चा गरे।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आर्थिक रुपमा चुस्त दुरुस्त भई बेरुजु फर्छ्यौटमा विशेष ध्यान दिनुपर्ने बताए। हरेक प्रहरी कार्यालयले आर्थिकरुपमा पारदर्शिता अपनाई विधि र सीमामा रहेर खर्च गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरी प्रधान कार्यालयले यही असार ८ गते ५२ जना प्रहरी उपरीक्षकहरु र ५७ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक एवं हालै सरुवा भएका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *