५८ दिनपछि हवाई यातायात शुरु, पहिलाे दिन ५१ उडान

फुर्पा शेर्पा
१७ असार २०७८ २१:१५

काठमाडौं। दोस्रो बन्दाबन्दीको ५८ दिनपछि विहीबारदेखि हवाई यातायात शुरु भएको छ। लकडाउन अघिको उडान संख्याको आधारमा अहिले ५० प्रतिशतमा झारिएको छ। लामो समयको बन्दाबन्दीपछि बिहीबार ५१ वटा उडानहरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विहीबारका लागि ५९ उडानको तालिका तय भए पनि ८ उडानहरु मौसम खराबीका कारण रद्द भएका छन्।

सबैभन्दा धेरै बुद्ध एयरले विहीबार २७ वटा उडान गरेको छ। उसले ३१ उडानको अनुमति पाए पनि ४ वटा उडान रद्द भएका थिए। बिहीबार बुद्ध एयर, यती एयर, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्स र सूर्या एयरलाइन्सले आन्तरिक हवाई सेवा दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डाेमेस्टिक टर्मिनल डिपार्टमेन्टका अननुसार बुद्ध एयर २७, यती एयर १४, श्री एयरलाइन्सको ७, सूर्या एयरलाइन्सको ३ गरि जम्मा ५१ उडान भएका छन्। तारा र समिटका सबै उडान विहीबार रद्द भएका छन्।

बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले विहीबार पहिलो दिन ३५०० सिट बुकिङ भएको र यो निकै उत्साहजनक संख्या रहेको बताए।
नागरिक उड्डयन प्राधिकरणको उडान तालिका अनुसार हरेक घण्टामा ७ उडान मात्रै हुने हुँदा विमानस्थलमा भिडभाड नदेखिएको र कोभिडविरुद्धको निर्देशिका अनुसार उडान सेवा सञ्चालन भइरहेको छ। हरेक यात्रुको तापक्रम मापन, ह्याण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेशशिल्डको अनिवार्य प्रयोग सुरक्षाका प्रमुख उपायहरु अपनाइएका जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *