तालिबानीसँग ज्यान जोगाउन १ हजारभन्दा धेरै अफगानी सैनिक ताजिकिस्तानतिर भागे

डिसी नेपाल
२२ असार २०७८ १६:५३
572
Shares

काबुल (बीबीसी)। अफगानिस्तानका एक हजारभन्दा बढी सैनिकहरू तालिबान उग्रवादीहरूसँगको भिडन्तपछि भागेर छिमेकको ताजिकिस्तानतर्फ गएका अधिकारीहरूले बताएका छन्। ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले जारी गरेको एक विज्ञप्तिका अनुसार ती अफगान सैनिकहरू “आफ्नो ज्यान जोगाउन” भागेर सीमापार पुगेका हुन्।

अफगानिस्तानमा हिंसा चर्किएको छ र हालैका दिनमा तालिबानहरूले देशको उत्तरी भेगमा कब्जा गर्ने कार्यमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको बताइएको छ। बीस वर्षपछि अमेरिका, यूके र गठबन्धन सैन्य त्यहाँबाट फिर्ता जान थाल्दा भिडन्तहरूमा वृद्धि भएको देखिएको छ। आगामी सेप्टेम्बर महिनाकोलागि निर्धारित सैन्य फिर्तीको समयअगावै ठूलो सङ्ख्यामा अफगानिस्तानमा बाँकी रहेका विदेशी सैनिकहरू बाहिरिसकेका छन्।

त्यसपछि देशको सुरक्षाको जिम्मा लिनु पर्ने अफगान सेना धराशायी हुन सक्ने चिन्ता पनि व्यक्त भइरहेका छन्। तालिबानसँग भएको एक सम्झौता अन्तर्गत अमेरिका र उसको नेटो साझेदारहरूले आफ्ना सबै सेना फिर्ता लैजाने र बदलामा उक्त उग्रवादी समूहले उनीहरूको नियन्त्रण रहेको क्षेत्रमा कुनै पनि कट्टरपन्थी समूहलाई सक्रिय रहन नदिने प्रतिबद्धता जनाएका थिए।

तर तालिबानले अफगान सैन्यसँगको लडाइँ बन्द गर्न सहमति जनाएनन्। हाल तिनीहरूको कब्जामा देशको एक तिहाइ भाग रहेको अनुमान गरिन्छ। अफगान सैनिकहरू भागेर ताजिकिस्तान पुगेका गत तीन दिनमा यो समेत तेस्रो घटना हो भने दुई हप्तामा पाँचौँ ।

जम्माजम्मी १,६०० अफगान सैनिकहरू त्यसरी भागेर ताजिकिस्तान पुगिसकेका छन्। ताजिकिस्तानसँग सीमा जोडिएका बडाखशान र ताखार प्रान्तहरूमा तालिबानहरू तीव्र गतिमा अघि बढिरहेका देखिन्छ।

बीबीसीका काऊन खामुश देशभरि हिंसामा वृद्धि भैरहँदा विदेशी सैनिकहरूको अनुपस्थितिमा अफगान सेनाले अभूतपूर्व रूपमा भिडन्तको सामना गर्नु परिरहेको बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *