ब्रुनेईका सुल्तानले बुहारीको शाही पदबी खोसे
काठमाडौं । ब्रुनेईका सुल्तान हसनल बोल्कियाले आफ्नी बुहारी पेङ्गिरन राबियातुल अदावियाहका सबै शाही पदबीहरू खोसेका छन्। सुल्तानले उनको व्यवहार शाही परिवारको सदस्यका लागि अनुचित रहेको र उनका गतिविधिहरूले राजतन्त्रको प्रतिष्ठामा क्षति पुर्याएको बताएका छन्।
ब्रुनेई दारुस्सलामको ‘अफिस अफ ग्रान्ड चेम्बरलेन’ ले यसै महिनाको सुरुआतमा यसको पुष्टि गरेको हो। आधिकारिक विज्ञप्तिमा सुल्तानको आदेशपछि राबियातुल अदावियाहको शाही पदबी तत्काल प्रभावबाट लागू हुने गरी फिर्ता लिइएको उल्लेख छ। यद्यपि, उनीमाथि कस्तो प्रकारको अनुचित व्यवहारको आरोप लागेको हो भन्नेबारे विस्तृत जानकारी दिइएको छैन।
विज्ञप्तिअनुसार उनको व्यवहार शाही परिवारका सदस्यकी पत्नीका लागि उपयुक्त मानिएको थिएन। उनीमाथि सुल्तान हसनल बोल्कियाप्रति सम्मान नदेखाएको र राजतन्त्रको छविमा आँच पुर्याएको आरोपसमेत लगाइएको छ।
सरकारी प्रसारक ‘आरटीबी न्युज’ले पनि सुल्तानप्रति गरिएको कथित अपमानजनक व्यवहार र राजतन्त्रको छविलाई नोक्सान पुर्याउने कार्यहरूका आधारमा यो निर्णय लिइएको जनाएको छ।
३३ वर्षीया राबियातुल अदावियाह सुल्तानका छोरा भित्री राजकुमार (प्रिन्स) अब्दुल मलिककी पत्नी हुन्। ४३ वर्षीय प्रिन्स अब्दुल मलिक ब्रुनेईको गद्दी (उत्तराधिकार) को रोलक्रममा चौथो स्थानमा रहेका छन्। सुल्तानको आदेशपछि राबियातुल अदावियाहको ‘याङ अमात मुलिया पेङ्गिरन अनाक इस्तेरी’ को उपाधि खोसिएको छ।
यस घटनाले विशेष ध्यान खिच्नुको कारण के हो भने, यसअघि शाही पदबीहरू सम्बन्धविच्छेद (तलाक) पछि मात्र फिर्ता लिइएका उदाहरणहरू थिए। तर, यस पटक प्रिन्स अब्दुल मलिक र राबियातुल अदावियाहबिच छुट्टिएको वा सम्बन्धविच्छेद भएको कुनै आधिकारिक घोषणा भएको छैन।
यसअघि सन् २००३ मा सुल्तान हसनल बोल्कियाले आफ्नी दोस्रो पत्नी मरियम अब्दुल अजिजसँग सम्बन्धविच्छेद भएपछि उनका शाही पदबीहरू फिर्ता लिएका थिए। त्यसैगरी सन् २०१० मा तेस्रो पत्नी अज्रिनाज मजहर हकिमसँगको सम्बन्धविच्छेदपछि पनि यस्तै निर्णय गरिएको थियो।
राबियातुल अदावियाहले सन् २०१५ मा बन्दर सेरी बेगावानमा १० दिनसम्म चलेको भव्य शाही विवाह समारोहमा प्रिन्स अब्दुल मलिकसँग विवाह गरेकी थिइन्। उनीहरूका चार जना बालबच्चा छन्। प्राप्त रिपोर्टहरूअनुसार बालबच्चाहरूको शाही पदबीमा भने यस निर्णयले कुनै असर पारेको छैन। ८० वर्षीय सुल्तान हसनल बोल्किया सन् १९६८ देखि ब्रुनेईमा शासन गरिरहेका छन् र उनी विश्वमै सबैभन्दा लामो समयसम्म शासन गर्ने जीवित राजा (सम्राट) हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment