बाढीका कारण एक जना युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगे
फाइल फाेटाे।
बलेवा । बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन्। मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो।
खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन्। “रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ”, ताराखोलाका पुराना पत्रकार महेन्द्र घर्तीले भने, “राताखोलाका सबै ठाउँमा पहिराले वितण्डा मच्चाएको छ।”
पहिरामा परी सम्पर्कविहीन रहेका कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए। बाढीले स्थानीयवासी चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ। वर्षाका कारण ताराखोला–१ हिलको इदिटोलमा केही परिवार विस्थापित छन्। विवरण आउन बाँकी छ।
वडा नं २ अर्गलमा एक घर पुरिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बाढीसँगै खोलामा पानीको बहाव बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीयवासी त्रसित छन्। बजार क्षेत्रका २५ परिवारलाई गए राति नै सुरक्षित स्थानमा सारिएको छ। उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment