१२ जना नेपाली युवती तस्करीको आरोपमा व्यवसायीविरुद्ध मुद्दा चलाउन अदालतको आदेश
काठमाडौं। केन्याका एक व्यवसायीविरुद्ध १२ जना नेपाली युवतीलाई तस्करी गरेको आरोपमा मानव बेचबिखन मुद्दा चलाउन अदालतले आदेश दिएको छ । सान्जु सिनियर रेसिडेन्ट मजिस्ट्रेट डेभिड ओडियाम्बोले अभियोजन पक्षले आरोपीविरुद्ध चित्तबुझ्दो आधार पेश गरेकोले उनीविरुद्ध मुद्दा चलाउन आदेश दिएका हुन् । असिफ अमिराली अलीभाइ जेठा नामका यी व्यापारी केन्याको न्यालीमा एक प्रसिद्ध बारका मालिक हुन् ।
केन्याको अखबार नेशनका अनुसार जेठासँग बेलायत र क्यानडाको पासपोर्ट छ । उनी न्यालीमा रहेको न्यू रंगीला बार एण्ड रेस्टुरेन्टका मालिक हुन् । उनलाई २०१९ मा मानव तस्करी, मानव तस्करीको प्रबद्र्धन र मानिसहरुको यात्रा दस्तावेज जबरजस्ती जफत गरेको गरी ३ अभियोगमा अनुसन्धान सुरु गरिएको थियो । उनले धोकापूर्वक शोषण गर्ने नियतले १२ जना नेपाली युवतीलाई बन्धक बनाएर राखेको अभियोजनकर्ताहरुले बताएका छन् ।
जेठाविरुद्ध ती नेपाली महिलालाई अगाडि समेत तस्करी गर्ने नियतले उनीहरुको पासपोर्ट जफत गरेर राखेको आरोप लगाइएको छ । ती १२ नेपाली महिलाहरुलाई उनले गैरकानुनी रुपमा राखेका थिए किनकि केन्याको कानुनअनुसार ती युवतीहरु त्यहाँ काम गर्न अनुमति प्राप्त थिएनन् । उनीविरुद्ध १६ र १७ वर्षका किशोरीहरुलाई बार डान्सरको काममा लगाएको अभियोग पनि छ । उनीविरुद्ध केन्यामा इजाजतबिना व्यवसाय चलाएको अभियोग पनि लगाइएको छ । उनीविरुद्ध लगाइएका अभियोगमा उनी दोषी ठहरिए उनलाई ३० वर्षसम्मको जेल सजाय हुन सक्छ ।







डिसी नेपाल







Facebook Comment