कडा सुरक्षा भएको सरकारी निवासमा राष्ट्रपतिको हत्या कसरी भयो ?
काठमाडौं। क्यारेबियन देश हैटीका राष्ट्रपति जोभेनल मोसेको बुधबार उनको सरकारी निवासमा हत्या गरिएको छ। पुलिसका अनुसार राष्ट्रपतिको हत्या गरेको विषयमा भएको कारवाहीमा सुरक्षाकर्मीले ४ जना संदिग्धलाई मारेका छन्। अन्य २ जनालाई हिरासतमा लिइएको छ। पुलिस प्रमुख लियोन चार्ल्सले बाँकी आक्रमणकारीहरु पनि छिटै पुलिसको नियन्त्रणमा हुने बताएका छन्।
मोसे ५३ वर्षका थिए। बीबीसीका अनुसार हैटीको राजधानी पोर्ट औ प्रिन्सस्थित राष्ट्रपति मोसेको सरकारी निवासमा बुधबार स्थानीय समयअनुसार दिउँसो १ बजे केही अज्ञात बन्दुकधारी पसेका थिए।
उनहिरुले तत्कालै राष्ट्रपति मोसेको गोली हानेर हत्या गरिदिए। हैटीकी फर्स्ट लेडी तथा राष्ट्रपति मोसेकी पत्नी मार्टिने मोसे पनि आक्रमणमा घाइते भएकी छिन्। उनलाई उपचारको लागि फ्लोरिडा लगिएको छ। उनको अवस्था स्थिर भएको बताइएको छ।
पुलिस प्रमुख चार्ल्सले बुधबार टेलिभिजन सम्बोधनमा भने ‘४ जना आक्रमणकारी सुरक्षा बलको कारवाहीमा मारिएका छन् र २ जना हाम्रो नियन्त्रणमा छन्।आक्रमणकारीले जुन ३ पुलिसकर्मीलाई बन्धक बनाएका थिए उनीहरुको अवस्था अझै पनि स्थिर छ। आक्रमणकारीहरु राष्ट्रपतिको घरबाट निस्केपछि बाटोमा पुलिससँग मुठभेड भएको थियो।’
मोसे २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए । हालै उनको राजीनामाको माग गर्दै निकै विरोध प्रदर्शन भएको थियो । सत्ता कब्जा, राजनीतिक अस्थिरता, आपराधिक समूहहरुबीचको हिंसा र प्राकृतिक विपत्तिले हैटीलाई गरिब देश बनाएका छन्। देशका अन्तरिक प्रधानमन्त्री क्लड जोसेफले देशमा संकटकालको घोषणा गरेका छन्।
जोसेफका अनुसार आक्रमणकारीहरु विदेशी थिए जसले अंग्रेजी र स्पेनिस भाषा बोल्न जान्दथे। हैटीको आधिकारिक भाषा क्रेओल र फ्रेन्च हो। केही मिडिया रिपोर्टमा बताइएअनुसार केही मानिसहरु कालो रंगको कपडामा थिए। उनीहरुले आफूहरु अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सीका एजेन्ट भएको नाटक गरेका थिए । यद्यपि यो कुराको आधिकारिक पुष्टि हुन सकेको छैन।
अमेरिकाको लागि हैटीका राजदूत बेचित एडमण्डका अनुसार यो आक्रमण अमेरिकी ड्रग्स एजेन्टले गरेका होइनन्। उनले यो आक्रमण सुपारी दिएर गराइएको बताए । पछि एडमन्डले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै आक्रमणकारीहरु जब राष्ट्रपतिको घरमा पसे त्यसपछि उनीहरुले आफूलाई अमेरिकी एजेन्टको रुपमा पेश गरेको हुन सक्छ।
जोभेनल मोसे भ्रष्टाचारको आरोपको सामना गरिरहेका थिए। यस वर्षको सुरुवातमा राजधानीसहित कैयौं सहरहरुमा उनको विरुद्ध विरोध प्रदर्शन भएका थिए। अक्टोबर २०१९ मा संसदीय चुनाब हुनुपर्ने थियो तर विवादका कारण चुनावमा ढिलाइ भयो । मोसे डिक्रीको माध्यमबाट पदमा रहिरहेका थिए।
यसै वर्ष फेब्रुअरीमा विपक्षी दलहरुले मोसे पदबाट हट्नुपर्ने माग गरे। त्यसै दिन उनको हत्याको असफल प्रयास पनि भएको थियो । हैटीको जनसंख्या १.१ करोड छ। यीमध्ये ६० प्रतिशत जनता गरिबीको रेखामुनि छन्। २०१० मा आएको भूकम्पले हैटीमा २ लाख जनाको ज्यान दिएको थियो र देशको अर्थव्यवस्थाको आधारभूत संरचना क्षतिग्रस्त भएको थियो
२००४ मा संयुक्त राष्ट्रसंघले हैटीमा शान्ति स्थापनाको लागि एक शान्ति मिसन पठाएको थियो। २०१७ मा संयुक्त राष्ट्रसंघको प्रतिनिधिमण्डल हैटीबाट फर्किएको थियो । यद्यपि त्यहाँ अस्थिरता कायमै छ।







डिसी नेपाल







Facebook Comment