एकैपटक कोरोनाका २ भेरिएन्टबाट संक्रमित भएको केस भेटियो, बिरामीको ५ दिनमै मृत्यु
काठमाडौं। एउटै बिरामी एउटै समयमा कोरोनाका २ फरक फरक भेरिएन्टबाट संक्रमित भएको पहिलो केस भेटिएको छ । यी बिरामी महिला एकैपटक कोरोनाभाइरसका २ फरक फरक भेरिएन्टबाट संक्रमित थिइन् र उनको ५ दिनमै मृत्यु भयो । यो केस भेटिएपछि शोधकर्ताहरुको चिन्ता बढेको छ । शोधकर्ताहरुले यस किसिमका केसले कोरोनाविरुद्धको लडाइँलाई झनै कठिन बनाउन सक्ने बताएका छन् ।
ब्लुमबर्गको एक रिपोर्टअनुसार ९० वर्षकी बेल्जियमकी यी महिला एकैपटक कोरोनाभाइरसको अल्फा र बिटा भेरिएन्टबाट संक्रमित पाइएकी थिइन् । महिलाले खोप लगाएकी थिइनन् र घरमै बसेर उपचार गराइरहेकी थिइन् । अवस्था बिग्रिएपछि मार्च महिनामा उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा महिलाको कोरोना परक्षिण गर्दा रिपोर्ट पोजेटिभ आयो ।
सुरुमा महिलाको अक्सिजन स्तर राम्रो थियो । तर, एक्कासी उनको अवस्था निकै छिटो बिग्रिँदै गयो र ५ दिनमै उनको मृत्यु भयो । अस्पतालका मेडिकल स्टाफले महिला कोरोनाको कुन भेरिएन्टबाट संक्रमित थिइन् भन्ने जान्नको लागि परीक्षण गर्दा उनको शरीरमा कोरोनाको अल्फा र बिटा दुवै भेरिएन्ट पाइए । अल्फा भेरिएन्ट सबैभन्दा पहिले बेलायतमा र बिटा भेरिएन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो ।
शोधकर्ताले यस किसिमको केसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । ओएलभी अस्पतालमा मोलिक्युलर बायोलोजिस्ट र यो केसमाथि शोध गरिरहेकी शोधबर्ता एनी बेंकिरबर्गनले भनिन् ‘त्यतिबेला बेल्जियममा यी दुवै भेरिएन्ट फैलिएका थिए । यी महिलामा यी भेरिएन्ट २ फरक फरक मानिसबाट आएको हुन सम्भव छ । तर उनी कसरी संक्रमित भएकी थिइन् भन्ने अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।’
बेंकिरबर्गनका अनुसार उनको स्वास्थ्य यति छिटो बिग्रिनुको कारण २ भेरिएन्टबाट संक्रमित हुनु नै थियो वा अरु नै कारण थियो भन्ने पनि पत्ता लगाउन सकिएको छैन । यो अध्ययन अहिलेसम्म कुनै पनि मेडिकल जर्नलमा छापिएको छैन । यसलाई युरोपियन कंग्रेस अफ क्लिनिकल माइक्रोबायोलोजी एण्ड इन्फेक्सियस डिजिजलाई पठाइएको छ ।
गएको जनवरीमा ब्राजिलका वैज्ञानिकले पनि देशमा २ जना एकैपटक २ फरक फरक भेरिएन्टबाट संक्रमित पाइएको बताएका थिए । तर, यी केसमा कुनै अध्ययन छापिएको थिएन । एक प्रेस रिलिजमा बेंकिरबर्गनले लेखेकी छिन् ‘यसअघि एकैपटक २ भेरिएन्टबाट संक्रमित भएका केस कहीँ छापिएका छैनन् । सम्भवतः यस किसिमका केसलाई बेवास्ता गरिएको छ ।’







डिसी नेपाल







Facebook Comment