क्वारेन्टिन बस्नेहरुको लागि ‘आनन्द आश्रम’ नाम जस्तै आनन्ददायी

रिता बस्नेत
१ साउन २०७८ ६:५८

काठमाडौं। नेपाल सरकारले विदेशबाट नेपाल आगमन हुने प्रत्येक यात्रुहरुलाई सिधै घर पठाउँदैनन्। उनीहरुमा केही दिनपछि कोरोना भाइरस देखापर्छ कि भनेर अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ।

ती यात्रुहरुलाई क्वारेन्टिनमा बस्नको लागि सयभन्दा बढी होटलहरु छुट्याइएको छ। विदेशबाट आएका यात्रुहरुको व्यवस्थापन सम्बन्धी क्वारेन्टिनका लागि सयभन्दा बढी छुट्याएको होटलहरुमध्ये एक गौशालास्थित ‘आनन्द आश्रम’ पनि हो। जहाँ क्वारेन्टिन बस्नको लागि ७० वटा कोठाहरु छुट्याइएको छ।

आनन्द आश्रमले सुरुदेखि नै नेपाल सरकारको नियम अनुसार विदेशबाट आएका मान्छेहरुलाई क्वारेन्टिनमा राख्दै आएको छ। जहाँ खाडी मुलुकलगायत वैदेशिक रोजगारीबाट आएका देखि युरोप, अमेरिका आदि देशहरुबाट आएका यात्रुहरु क्वारेन्टिनमा बस्दै आएका छन्।

पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको धर्मशालालाई लिजमा लिएर होटल आनन्द प्रालिले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न धर्मशालाका रुपमा द पिक हस्पिटालिटीलाई व्यवस्थापन गरेको छ । जुन, होटल यतिबेला विशेषत वैदेशिक रोजगारीबाट आएका युवाहरुको लागि आकर्षकको केन्द्र बनेको छ । चिफ एण्ड बेस्ट (सस्तो पनि राम्रो पनि) भनेर आनन्द आश्रमलाई सबैले मन पराउने बताउछन्, उक्त होटललाई व्यवस्थापन गरिराखेका द पिक हस्पिटालिटीका अध्यक्ष दिपक लेखक ।

उनी भन्छन्, ‘पहिलो लकडाउनदेखि नै व्यक्तिहरुलाई क्वारेन्टिनमा राखेका हौं। अमेरिका, युरोप लगायतका देशबाट आएका व्यक्तिहरु चार्टड गरेर जाने बेलामा पनि यहाँ धेरैजना बस्नु भयो। पहिला कन्ट्याट ट्रेसिङमा परेका मान्छेहरुलाई घरमा समाजमा जान मिल्दैन थियो, त्यस्ता मान्छेहरु पनि राख्यौं। त्यसबेला डाक्टर, नर्स, आर्मी, पुलिस, पत्रकार, एयरलाइन्सका मान्छेहरु, नेपाल सरकारको कर्मचारी लगायत कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुलाई राख्यौं।’

होटललाई क्वारेन्टिन प्रयोजनमा ल्याउदा सुरुसुरुमा आफू पनि कोरोना संक्रमण भएर मरिने हो कि भनेर निक्कै डर लागेको बताउँदै उनी भन्छन्, ‘सुरुमा त डरै लाग्थ्यो। आफूले नगरि पनि नहुने त्यसैले पनि घर नगई म लामो सयमसम्म यही होटलमै बसे। सीमित स्टाफहरुलाई पनि यही राख्यौं। अहिले चाहीँ कन्ट्याट ट्रेसिङका मान्छेहरु आउँदैनन्।’

सुरुसुरुमा कोरोना भाइरसले गर्दा मानिसहरु भेटघाट गर्न निकै डराउँथे। बास दिने कुरामा सबैजना परपर हुन्थे। तर, रिक्स मोलेरै भएपनि कोरोना भाइरस देखापरेदेखि नै आफ्नो होटललाई क्वारेन्टिनको लागि प्रयोग गरेको उनले बताए।

उनी भन्छन्, ‘युरोप, अमेरिका, खाडी मुलुकबाट आउने सबैखालका मान्छेहरुलाई पहिला १० दिनको क्वारेन्टिनको व्यवस्था थियो, हामीले राख्यौ। अहिले घटाएर ७ दिन बनाइएको छ, यो भन्दा अगाडि ५ दिनको पनि बनाइएको थियो। क्वारेन्टिनको लागि हाम्रो प्याकेज नै छ। जसमा नेपाल सरकारको नियम अनुसार प्रति व्यक्ति ३ हजारभन्दा बढी लिन नपाइने भन्ने छ, हामीले त्यसैभित्र रहेर सेवा सुविधा दिइराखेका छौं।’

होटल संचालक लेखकका अनुसार बाहिरबाट आएर क्वारेन्टिनमा बस्नेहरुको लागि तीन हजार रुपैयाँमा तारे होटल सरहको कोठा दिइन्छ। हुन त सुविधासम्पन्न प्रत्येक रुममा एउटा बेड, दराज, सोफा, भित्रै ट्वाइलेट बाथरूम, टिभी, चिया–कफी आफै बनाएर खान मिल्ने इलेक्ट्रि भाडा आदि राखिएको छ। उनी भन्छन्, ‘प्रत्येकलाई एयरकन्डिसन रुम दिनुको साथै क्वारेन्टिनमा बस्न आउने व्यक्तिलाई प्याकेजभित्रै एयरपोर्टबाट पिकअप पनि गरिदिन्छौं।’

उनका अनुसार क्वारेन्टिनको समयावधि सकिएपछि भने पिसिआर गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र विदाई गरिन्छ। क्वारेन्टिन बसेको छैठौं दिनमा पिसिआर गरिन्छ र आठ घण्टापछि रिपोर्ट आएपछि उनीहरु क्वारेन्टिनबाट बिदा हुन पाउँछन्।

उनका अनुसार क्वारेन्टिनमा बस्नेहरुले जाने बेलामा आफैं अस्पताल गई १५–१६ सय रुपैयाँ तिरेर पिसिआर गर्दा पनि हुन्छ भने होटलले नै सम्बन्धित मान्छे बोलाएर २ हजार चार्ज लिएर पिसिआर गरिदिने व्यवस्था पनि गर्दै आएका छ। तर, पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो भने होटलले नेपाल सरकारलाई जानकारी गराउछ र संक्रमितलाई आइसोलेशन सेन्टरमा सरकारी खर्चमा बस्ने खाने सुविधासहित अलग्गै गरेर लगिन्छ।

आनन्द आश्रम शाकाहारी होटल हो। उनी उक्त आश्रममार्फत आफ्नो टिमकै सोचाई दुई–चार जना गरिब दुःखीसँग दुई चारसय बढी पैसा लिएर कमाउने सोच नभएको बताउँछन्। विभिन्न स्टार होटलमा म्यानेजर भएर काम गरेको अनुभव र पढाई पनि होटल तथा टुरिजम सेक्टरकै भएकाले आफू गलत काम होटल, टुरिजम क्षेत्रमा कहिल्यै गर्न नसक्ने बताउँछन्।

उनी भन्छन्, ‘यो फिल्डमा मैले जिन्दगी लगाएको छु। मैले भ्याए, जाने बुझेसम्म यसमा म गलत गर्दै गर्दिन। यो शाकाहारी भएकाले यहाँ रक्सी मासु खान पाइँदैन तर कसैकसैले लुकाएर, छलेर खाइदिने गर्छन्। कोठाभित्र त्यस्ता सानातिना गल्तीहरु कहिले काहीँ मान्छेले गरिदिन्छन्। तर, त्यो बाहेक समाजलाई असर गर्ने, इथिकल, प्रोफेसनल गल्तीहरु मेरो तर्फबाट हुँदैन। हस्पिटालिटी, टुरिजम पढेर आएको मान्छे हुँ । नेपालमै केही गर्छु भनेर काम थालेको मान्छे हो म।’

चारैतिर हरियाली, खुल्ला र सफा वातावरण भएको होटल साच्चै नै रमणीय छ, जुन क्वारेन्टिन बस्नेहरुको लागि त सात दिन बितेको पत्तै हुँदैन। उनी आफ्नो होटलको खाना, कोठाको रेट दर उचित र सर्वसुलभ रहेको बताउछन् ।

उनी भन्छन्, ‘यो होटललाई संसारभरि युनिक प्रोडक्ट, क्षमतावान, राम्रो सर्भिस भएको होटल धर्मशालाका रुपमा परिचित गर्न चाहन्छु। यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने सोच हो। यहाँ सुरुमा कोरोना आउँदादेखि नै धेरै व्यक्तिहरुलाई क्वारेन्टिनमा राखेकाले यससम्बन्धमा हामी अनुभवी छौं। त्यसैले क्वारेन्टिन व्यवस्थापनमै पनि मैले अरु होटलहरु भन्दा धेरै राम्रो व्यवस्थापन गरेको छु।’

वैदेशिक रोजगारीबाट आएर बस्ने कतिपय व्यक्तिहरु क्वारेन्टिनको समयावधि नपुगिकनै भागेर आफ्नो गन्तव्यतिर लाग्ने गर्छन्। सोही प्रसंगलाई कोट्याउँदा उनी यसो भन्छन्, ‘यहाँबाट पनि भर्खरै दुबईबाट आएका दुई जना क्वारेन्टिनमा दुई दिन बसेर भागे। भाग्छन् भनेर हामीले पहिल्यै पैसा लिइसकेका हुन्छौं अर्थात् पासपोर्ट राख्छौं। उनीहरुले त पैसा तिरिसकेका थिए अनि राति करिब १ बजेतिर ल्याएका सबै सामानको झोला, लगेज पर्खाल नजिकै लगे उता गाडी मगाइराखेका रहेछन्। अनि पर्खालबाट सबै सामान पास गरे र आफूहरु पनि गाडीमा चढेर भागे।’

उनी थप्छन्, ‘भोलिपल्ट त दुई जना नै पुग्दैनन्। यो खासै ठूलो क्राइम त होइन तरपनि त्यसरी भाग्दा हामीलाई रिक्स हुन्छ। सुरुमा छतमा बसेका होलान भन्ने भयो तर चिया, खाजा र खाना पनि खान नआउदा पछि कोठा खोलेर हेर्दा त सबै सामान प्याक गरेर राति नै भागेका रहेछन्। हाम्रो त चारैतिर सिसिटिभी छ। फुटेज हेर्दा भागेको थाहा भइहाल्यो। उनीहरुलाई पछि केही भयो भने हामी जिम्मेवारी हुनुपर्छ भनेर पुलिसलाई रिपोर्ट गरिदियौं। अब हामीले उनीहरुलाई के नै गर्न सक्छौं र?, फेरि क्वारेन्टिन त नयाँ प्राक्टिस पनि भयो।’

होटलमा अहिलेसम्म क्वारेन्टिनको लागि छुट्याइएको करिब ७० रुममा प्राय ६० प्रतिशत व्यक्तिहरु दैनिक क्वारेन्टिनको लागि बस्नेहरु भइराखेको होटल संचालक लेखकले सुनाए। सोही क्रममा साउदीबाट एक हप्ता अघि आएर त्यहाँ क्वारेन्टिनमा बसेका कोहोलपुरका अनुवर अलि भोलि कोरोना टेष्ट गरेर घर जाने हो भन्दै प्रफुल्ल मुद्रामा टाढैबाट सुनाउँदै थिए।

उनले साउदीमा एक डोज मात्र खोप लगाएकाले पिसिआर नेगेटिभको रिपोर्ट लिएर नेपाल आएका रहेछन्। उनी साउदी बसेको ५ वर्ष भएको रहेछ। उता रेष्टुरेन्टमा काम गरेका उनलाई क्वारेन्टिनमा बसेको बारे सोध्दा उनले भने, ‘यो होटलमा सबै राम्रो छ। उताको साहुले नै यहाँको क्वारेन्टिनको खर्च तिरेको हो। यहाँ एक कोठाको २५ सय ९० रुपैयाँ तिरीदिएको हो।’

सोही क्रममा होटल संचालक लेखक भन्छन्, ‘कोही कोही त कस्ता पनि हुन्छन् भने उताबाट किड्नी फेल भएका, डेलिभरिका सिरियस केस भएकाहरु पनि आउछन्। यता नियम अनुसार होटल क्वारेन्टिन नबसिकन घर जान पाइँदैन। उसलाई एयरपोर्टबाटै अस्पताल लानु पर्ने हुन्छ, उसँग पैसा हुँदैन त्यस्ता अवस्थाका समेत हुन्छन्।’

त्यस्ता क्वारेन्टिनमा बस्न नसक्ने अवस्थाका मान्छेलाई भने मेडिकल रिपोर्ट, पिसिआर रिपोर्ट हेरेर कहाँ जाने हो पुर्याइदिन सहयोग गर्दै आएको उनले सुनाए। उनले भने, ‘कतिपय परिवारका सदस्यको मृत्यु भएर आएका हुन्छन्, यता क्वारेन्टिनमा बसेर सद्गद् गर्न त पाउँदैनन्? यस्तो अवस्थाका कतिपय व्यक्तिलाई मैले सम्बन्धित ठाउँमा पहल गरेर घरसम्म पुर्यादिने वातावरण मिलाइदिएको छु।’

उनी थप्छन्, ‘कतिपय त लकडाउनले गर्दा काम नगरिकन बसेर नेपाल आएका पनि हुन्छन्। दुई तीन महिना अगाडि देखि जागीरबाट निकालिदियो, कम्पनीले त्यहाँ बस्न खान चाहिँ दिएको थियो। पहिले कमाएर घर ल्याउन ठिक्क पारेको पैसा सकियो, छैन भन्छन्।’

विदेशमा नेपाली कामदारले भोगेका दुःख आफूलाई सुनाउँदा दया लागेर आएको तर लकडाउनले विश्वलाई पारेको असरले गर्दा आफूले पनि सबै दुखीहरुलाई हेर्न नसकेको गुनासो गर्दै उनी भन्छन्, ‘सबैलाई हामीले मात्रै के नै गर्न सक्छौं र? कम्पनी अप्रेश्नल खर्च धान्ने गरी अहिले सेवा दिइराखेका छौं । यस विपतको अवस्थामा सेवाग्राही र सरकारलाई सकेसम्म हातेमालो गर्ने प्रयास गरिराखेका छौं । उनीहरुको हालत देख्दा पनि दया लाग्छ त्यस्तालाई त सरकारले गरिदिएदेखि हुन्थ्यो। सरकारले गर्यो भने उनीहरुको लागि हामीले पनि सहुलियत दिन सक्थ्यौ नि।’

उनी विदेशबाट दुःख पाएर एक पैसा नलिइकन आएकाहरुलाई सरकारले नै क्वारेन्टिनको व्यवस्थापन गरिदिएदेखि आफूले पनि त्यसमा सघाउन पछि नहट्न बताउँछन्। तर उनी विदेशबाट धेरै कमाएर सम्पन्न भएर नेपाल आउनेहरुको संख्या पनि उल्लेख्य रहेको र सोही होटलमा क्वारेन्टिनमा बसिराखेको पनि सुनाउँछन्।

विदेशबाट पूरै डोज खोप लगाएका व्यक्तिहरु भने नेपालमा आएर क्वारेन्टिनमा बस्नु पर्दैन । उनीहरु एयरपोर्टबाट सिधैँ घर जान पाउछन्। उनका अनुसार अझै पनि खाडीलगायत देशमा गएका नेपाली कामदारले खोप लगाउन पाएका छैनन्।

पछिल्लो समयमा प्रायले विदेशमा पनि खोप लगाएरै आएका हुन्छन्, क्वारेन्टिनमा बस्ने संख्यामा कमी आएको होला भन्ने प्रसंगलाई लिएर होटल संचालक लेखक भन्छन्, ‘हुँदैन नि, कस्तो हुन्छ भने नेपालीहरु त्यहाँ(विदेशमा) काम गर्ने मान्छे हुन्। तिनीहरुलाई सुरुमै प्राथमिकता दिइएको छैन। उनी (विदेशी)हरुले सुरुमा आफ्ना नागरिकहरुलाई खोप लगाउछन्। नेपालमै पनि बस्दै आएका विदेशी नागरिकले खोप पाएका छैनन् । हो त्यस्तै हो विदेशमा पनि।’

त्यस्तै, होटलमा क्वारेन्टिनको व्यवस्थापनले अन्य आउने पाहुनाहरुलाई असर गरेको छ कि छैन भन्ने जिज्ञासामा उनी भन्छन्, ‘हुन्छ, मिटिङ्ग गर्ने गेष्टहरु आउन खोज्नुहुन्छ तर त्यहाँ त क्वारेन्टिनमा राखेको छ, जान्न भन्नुहुन्छ। क्वारेन्टिनमा राखेको छ, कोरोना सर्न सक्छ, होटलले त्यस्तै मान्छे ल्याएर राख्ने गरेको छ भनेर शंका गर्छन्। क्वारेन्टिन र आइसोलेसन फरक कुरा हुन्, जुन कुरा कतिपयले अझै बुझेका छैनन्।’ उनका अनुसार कोरोना संक्रमित राख्ने ठाउँ आइसोलेसनलाई झै क्वारेन्टिनमा बसेकालाई पनि अझै पनि आइसोलेशन झै धेरैले सोच्ने गर्छन्।

कोरोना कहरको यो समयमा क्वारेन्टिन व्यवस्थापनको समेत व्यवस्था गर्दै आएको ‘आनन्द आश्रम’ २५ रोपनी जग्गामा फैलिएको छ। जसको माथि या रुफटपमा पनि गार्डेन छ । प्राय सबैतिर फराकिलो र खुल्ला छ। संक्रमणविरुद्ध लड्नको लागि प्रवेशद्वारदेखि ठाउँठाउँमा सेनिटाइजर आदिको व्यवस्था गरिएको छ।

साथै, क्वारेन्टिन बस्ने प्रत्येक व्यक्तिलाई सेफ्टीकिट दिने, डेल्ली हेल्थ मोनिटरिङ्ग चेक गरेको रिपोर्ट सीसीएमसीलाई पठाउने लगायतले कोरोना संक्रमण फैलिने चान्स कम हुने होटल संचालक लेखक बताउँछन्।

सात दिनसम्म एउटा रुममा क्वारेन्टिनमा बस्दा मान्छे त साइको हुन्छ नि भन्दै उनी अन्त्यमा भन्छन्, ‘यहाँ क्वारेन्टिन बस्नेको लागि नेपालमै यो होटल सुविधा सम्पन्न छ । एयरपोर्टबाट नजिक पनि छ। यसको एरिया पनि ठूलो, फराकिलो छ। माथि नै मनिङ्ग वाक गर्न मिल्छ, यहाँबाट पशुपतिनाथको मन्दिर देखिन्छ, दर्शन गर्न मिल्छ। त्यसैले यहाँ दिन बितेको पत्तै हुँदैन।’

उनका अनुसार आनन्द आश्रम एक पटक बसेर गएको व्यक्ति वा उनीहरुको सम्पर्कका व्यक्तिहरु पुनः सोही होटलमा आइराख्ने भएकाले पनि उनको होटल यो कोरोना कहरमा पनि सुनसान अवस्थामा छैन। र, उनी आनन्द आश्रम विशेषत क्वारेन्टिन बस्नेहरुको लागि वातावरणमैत्री र आनन्ददायी रहेको बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *