नगरप्रमुखले पालिकालाई निःशुल्क दिए निजी घर

डिसी नेपाल
२ साउन २०७८ ९:४८

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ। भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन्।

नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएकाे कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए। “नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ”, जोशीले भने, “अब मासिक रु ६० हजार बचत हुने भयो।”

नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक रु ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए। नयाँ आव २०७८/०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *