राज कुन्द्राको सुनुवाइ आज, गम्भीर खतरामा छिन् शिल्पा शेट्टी

डिसी नेपाल
८ साउन २०७८ १२:१९
2.7k
Shares

काठमाडौं। मुम्बइ पुलिसले बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई गिरफ्तार गरेसँगै यो केसमा शिल्पा शेट्टीको संलग्नताबारे धेरै चर्चा चलिरहेको छ । आज राज कुन्द्रालाई सुनुवाइको लागि अदालतमा पेश गरिँदैछ । राज कुन्द्रालाई अदालत पेश गरिँदै गर्दा शिल्पा शेट्टीमाथि गम्भीर खतरा देखिएको भारतीय मिडियाले जनाएका छन् ।

एबीपीन्यूजका अनुसार पुलिसले राज कुन्द्रा मात्र नभइ उनको वियान कम्पनीका निर्देशक र कार्यालयमा काम गर्ने अन्य कर्मचारीलाई कानुनी नोटिस पठाएर सोधपुछको लागि बोलाउन सुरु गरेको छ । पुलिसले शिल्पा शेट्टी पनि यो कम्पनीको महत्वपूर्ण पदमा रहेको र उनले यो पद २०२० मा छोडेको आशंका गरेको छ । कम्पनीमाथि २०२० भन्दा अगाडिदेखि नै अश्लील सामग्री उत्पादन गरेको आरोप लागेकोले यदि शिल्पा कम्पनीको महत्वपूर्ण पदमा रहेको पाइएमा उनी विरुद्ध पनि मुद्दा चल्नेछ ।

राज कुन्द्राका अधिकांश व्यवसायमा शिल्पा शेट्टी साझेदार छिन् । यस्तोमा यो धन्दामा पनि उनी साझेदार हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढिरहेको छ । यदि पुलिसले शिल्पालाई यस विषयमा सोधपुछका लागि बोलाएमा मात्रै पनि शिल्पाको १४ वर्षपछिको बलिउड कमब्याक जोखिममा पर्न सक्छ । किनकि १४ वर्षपछि फर्किएर उनले अभिनय गरेको फिल्म हंगामा २ आजै रिलिज हुँदैछ । रिलिजकै दिन कुनै अप्रत्याशित घटना भए यसले उनको बलिउड करिअर समेत बर्बाद पार्न सक्छ ।

क्राइम ब्रान्चका एक अधिकारीले एबीपी न्यूजसँग भने ‘हामीले कम्पनीका आइटी र वित्तीय विभागका कर्मचारीलाई नोटिस पठाएर उनीहरुको बयान लिन सुरु गरेका छौं । शिल्पा शेट्टी पनि महत्वपूर्ण पदमा थिइन् र उनले त्यो पद २०२० मा छोडेकी थिइन् । उनले पद त्यतिबेला छोडेकी थिइन् जतिबेला महाराष्ट्र साइबरले यस्तै किसिमका अश्लील भिडियोको मामिलामा एफआइआर दर्ता गरेको थियो ।’ उनका अनुसार क्राइम ब्रान्चले को–कोले हालै पद छोडेका छन् भन्ने पनि जाँच गरिरहेको छ । आवश्यकता परे शिल्पा शेट्टीलई बोलाइने उनले बताए ।

वियान कम्पनीका अलावा शिल्पा कुन्द्राको जेएल स्ट्रिमकी पनि ब्रान्ड एम्बेसेडर हुन् । क्राइम ब्रान्चले हालै जेएल स्ट्रिमको कार्यालयमा छापा मारेर कैयौं दस्तावेज नियन्त्रणमा लिएको छ । क्राइम ब्रान्चका अधिकारीहरुले कुन्द्राको अंधेरीस्थित कार्यालयमा छापा मारेर ठूलो परिमाणमा डाटा बरामद गरेका छन् । अधिकारीहरुले यसमध्ये पनि धेरै डाटा डिलिट गरिएको आशंका गरेका छन् । स्टोरेज एरिया नेटवर्कबाट धेरै डाटा गायब देखिएको र यो डाटा कुन्द्राको आइटी विभागले डिलिट गरेको हुन सक्ने ती अधिकारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.