मनाङ्मा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप

डिसी नेपाल
१९ साउन २०७८ १९:५६
72
Shares

मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले भेरोसेलको पूर्ण खोप लगाएको आचार्यले बताए ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउन योग्य नागरिक छ हजार २०० रहेको बताएको थियो । अन्य नागरिक कामको सिलसिलामा देशविदेशमा रहेकाले खोप लगाउने नागरिकको सङ्ख्या चार हजार १९८ रहेको आचार्यले जानकारी दिए ।

जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराउने व्यवस्था गरेको उनले बताए । देशैभर खोपको अभाव रहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी लागेको पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् । उनका अनुसार नागरिकले कोभिड–१९ को सङ्क्रमण जोखिममा खोप लगाउन पाएकोमा सुरक्षित महसुस गरेका छन् ।

प्राकृतिक विपद् र विश्वव्यापी महामारीले मानवीय क्षति हुन नदिन दुर्गम जिल्ला मनाङलाई मागअनुसारको खोप उपलब्ध गराएको गण्डकीका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले बताइन् । “प्रदेशका सबै जिल्लामा कोभिडविरुद्धको पूर्ण मात्रा खोप पु¥याउने लक्ष्य हो, तर विकट जिल्ला मनाङलाई प्राथमिकतामा राखी खोप उपलब्ध गरायौँ, अन्य जिल्लालाई पनि पूर्णरुपमा खोप उपलब्ध गराउने कसरतमा छौँ ।”

“विपद् सँगसँगै कोभिडको जोखिमबाट बचाउनका लागि दुर्गम जिल्ला मनाङका नागरिकलाई खोप लगाउन सफल भएका छौँ”, नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने, “स्थानीय तहको समन्वयमा प्रदेश सरकार र सङ्घ सरकारले दुर्गम जिल्लालाई प्राथमिकता दिएर खोप उपलब्ध गराएकोप्रति आभार व्यक्त गर्दछु, जसले आमनागरिकलाई सुरक्षित बनाएको छ ।”

मनाङमा बाढीपहिराको जोखिममा रहेको अवस्थामा कोभिडविरुद्धको खोप ढुवानीका लागि नेपाली सेनाले सहयोग गरेको थियो । आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *