उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गर्ने पक्राउ

डिसी नेपाल
२७ साउन २०७८ १७:५१
400
Shares

काठमाडौं । आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत शाखा अधिकृत हुँ भनि ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २६ वर्षीय केशवराज भट्टलाई कलंकीस्थित स्युचाटारबाट पक्राउ गरेको हो ।

किर्तिपुर नगरपालिका वडा नं. ०७ बस्ने डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका भट्टले आफुलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ र परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

ठग्नका लागि भट्टले निजामती कर्मचारीको पोशाक दुरुपयोग गर्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । २०७५ चैत २६ मा पनि महाशाखाले भट्टलाई पक्राउ गरेको थियो । साइबर अपराध र ठगी मुद्दामा उनी १ वर्ष जेल बसेर ३० हजार जरिवाना तिरेर रिहा भएका थिए ।

उनको साथबाट उनले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन, केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम, किशोर भट्ट नामको त्रिचन्द्र कलेजको बिद्यार्थी परिचयपत्र र किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड थान बरामद गरिएको छ । उनले समाजिक सञ्जालमार्फत चिनजान गरेर विश्वासमा पारेर उनले ठग्ने गरेको महाशाखाले जनाएको छ ।

उनको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको तथा कोही व्यक्तिहरु निजबाट पीडित भएको भए महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.