‘हामी नेपाल’ संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

डिसी नेपाल
३० साउन २०७८ १९:४६
176
Shares

काठमाडौं । ‘हामी नेपाल’ले काठमाडौंको बसन्तपुरमा रक्तदान कार्यक्रम गरेको छ । नेपालमा कोभिड–१९ का कारणले देखा परेको रगतको अभावलाई ध्यानमा राख्दै आज (शनिबार)का दिन ‘हामी नेपाल’ले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

हामी नेपालका अध्यक्ष सुधन गुरुङले नेपालमा कोभिड–१९ का कारणले देखिएको रगतको अभावलाई कम गर्न, मानिसहरूलाई रक्तदानको महत्त्व बुझाउन र दान गर्नुपर्छ भन्ने भावना जगाउने हेतुले उक्त रक्तदान कार्यक्रम गरेको बताए। उनका अनुसार अहिलेको कोरोना महामारीको समय यस्तो रक्तदान कार्यक्रमहरुले बिरामीहरुलाई सहयोग हुने बताए।

अध्यक्ष गुरुङले हामी नेपालले पहिलो पटक आयोजना गरेको उक्त रक्तदान कार्यक्रमबाट संकलित रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको जानकारी गराए।

हामी नेपाल नामक संस्था विगत लामो समयदेखि समाजसेवामा लागीपरेको छ। हामी नेपाल २०७२ सालको महाभुकम्पदेखि सामाजिक र मानवीय समवेदना भएका कर्मनिष्ठ निस्वार्थ युवाहरु एकत्रित भएर काम गरि रहेको समूह हो। हामी नेपालले “मानिसद्वारा मानिसको लागी” भन्ने विचार सहितको गैर मुनाफा मुलक संगठनको अवधारणा अवलम्बन गर्दै आएको छ।

संस्थाले भुकम्पपछिको महाविपत्तिको बेला वीर अस्पतालको सरसफाइ, घाइतेहरुको उद्दार, राहत वितरण, स्वास्थ शिविर लगायतका कार्य सम्पन्न गरेकाे थियाे। त्यसपछिका दिनहरुमा पनि विभिन्न समयमा गरिब निमुखाहरुको लालनपोषण, औषधि उपचार, विपत्तिको बेला उद्दार र राहतमा यस समूह आफ्नो क्षमताले भ्याएसम्मको काम गर्दै आईरहेकाे छ ।

कोरोना महामारीको पहिलो लहरमा टिचिङ अस्पतालमा प्लाज्मा बैंकको स्थापना, गोरखा, सिन्धुपाल्चोकमा राहत वितरण, कोभिड तथा अन्य विरामीको ओसारपसार, अस्पताल खोजिदिने लगायतका काममा उल्लेख्य योगदान पुर्याएकाे छ। यस्तै कोरोनाको दोस्रो लहरमा निषेधाज्ञाको पहिलो दिनदेखि नै समस्याको आँकलन र तयारीसंगै तेस्रो दिनदेखि नै वीर अस्पताल, क्षेत्रपाटी अस्पतालको कोभिड सेन्टर संचालनमा सहयोग तथा स्वयंसेवकको रुपमा काम पनि गर्दै आईरहेकाे छ ।

संस्थाले पछिल्लो बाढी पहिरोको प्रकोपमा समेत सिन्धुपाल्चोक, मनाङ लगायतका क्षेत्रमा उद्दार र राहतमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाे छ । हालै हामी नेपालले गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा मनाङलाई नेपालको पहिलो ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ बनाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *