पोखरामा औद्यागिक र पर्यटन क्षेत्रका ६७ सय व्यवसायीले लगाए खोप

डिसी नेपाल
३१ साउन २०७८ ११:५२
48
Shares

काठमाडौं । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७ सय उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो ।

शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए । दैनिक सयौँ उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यवसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको जानकारी दिँदै उनले थोरै सङ्ख्यामा भए पनि खोप उपलब्ध हुनुले आफूहरूलाई उत्साहित बनाएको बताए ।

उनका अनुसार खोपको सुनिश्चितताका लागि सङ्घले गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय कास्कीसहित सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको थियो । सङ्घका पूर्वअध्यक्ष तथा गण्डकीका कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापासहित सङ्घका अध्यक्ष कोइराला, वाणिज्यतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलगायतको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर खोपको माग गरेको थियो ।

अत्यावश्यक सामग्रीको उत्पादन गर्ने औद्योगिक क्षेत्र तथा पर्यटनमा आवद्ध व्यवसायी र मजदुरले खोप पाउनु सुखद् भएको उनले बताए । अध्यक्ष कोइरालाका अनुसार सङ्घले एक हजार ४ सय, पोखरा पर्यटन परिषद्को समन्वयमा दुई हजार ५ सय, पोखरा औद्योगिक क्षेत्रमा एक हजार, लेखनाथ उद्योग वाणिज्य सङ्घमा ९ सय तथा पोखरा चेम्बर अफ कमर्ससँग आबद्ध ९ सय व्यवसायीले खोप पाएका छन् ।

आगामी दिनमा थप व्यवसायीलाई खोप उपलब्ध गराउन निरन्तर लागिरहने प्रतिबद्धता उनले व्यक्त गरे । सङ्घका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक पोखरेलले यसअघि नै उमेर समूहअन्तर्गत केही व्यवसायीले खोप लगाइसकेको जानकारी दिँदै प्रतिष्ठानमा अग्रमोर्चामा रहने कर्मचारीले पनि खोप पाएसँगै व्यावसायिक क्षेत्र केही ढुक्क हुने अवस्था सिर्जना भएको बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *