नेपालसहित १४ सांसदको पद खारेजी गर्न पत्र

डिसी नेपाल
२ भदौ २०७८ ६:१३
228
Shares

काठमाडौं। नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेलगत्तै उनीहरूको सांसद पद संकटमा पर्ने देखिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेलगत्तै ओली पक्षले कारबाही थालेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको एमालेका एक नेताले जानकारी दिए । यसरी कारबाहीमा पर्ने सांसदहरूमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन् ।

उनीहरूलाई कारबाही गरिएकाले पदमुक्त गर्नुपर्ने बेहोरासहितको पत्र एमालेले मंगलबार नै संसद् सचिवालयमा पठाइएको जनाएको छ । सो पत्र संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगे पनि दर्ता हुन बाँकी रहेको बताइएको छ ।

२७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिँदा माधव नेपाल पक्षधर २८ जना सांसदहरू बैठकमा अनुपस्थित भएका थिए । जबकि एमाले संसदीय दलले पक्षमा मतदान गर्न सबै सांसदलाई निर्देशन दिएको थियो । उनीहरूमाथि ह्वीप उल्लंघनको आरोपमा कारबाही गर्ने कानुनी सुविधा रहे पनि एमालेले तत्काल कारबाही प्रक्रिया अघि बढाएको थिएन । राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *