पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध, पैराबारीका घर जोखिममा

डिसी नेपाल
१३ भदौ २०७८ १०:०६

सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । प्रहरीका अनुसार मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरेका छन् । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।

पैराबारीका घर जोखिममा

बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन् । स्थानीयवासी प्रशान्त कार्की अनुसार गतवर्षदेखि नै पैराबारी ज्यामिरे बाटो खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा खस्ने क्रम जारी रहेको छ ।

बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उनले बताए । ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ । ढुङ्गा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखिनै नगरलाई गराए पनि चासो नदिएको उनले दुःखेसो गरे ।

पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था रहेकाले नगरको स्थानीयवासीले ध्यानाकर्षण गराएका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *