देउवाको स्वदेश फर्किने तालिका संशोधन: बिहीबार दिउँसो १२:३० बजे काठमाडौं ओर्लिने

डिसी नेपाल
२३ साउन २०८३ १६:०७

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फर्किने मिति र समय परिवर्तन भएको छ।

यसअघि साउन २६ गते राति काठमाडौँ अवतरण हुने तय भएको तालिका परिमार्जन गरी अब आगामी बिहीबार (साउन २८ गते) मध्याह्न साढे १२ बजे उनी स्वदेश आइपुग्ने भएका छन्।

कांग्रेस नेता डा. प्रकाशशरण महत र प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार राति अवतरण हुँदा शुभचिन्तक तथा कार्यकर्तालाई स्वागतमा उपस्थित हुन असहज हुने भएकाले आग्रहबमोजिम समय सारिएको हो। देउवा थाइ एयरको उडानमार्फत काठमाडौँ आउने तय भएको छ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका पूर्वप्रधानमन्त्री देउवा १३ फागुनको राति उपचारका लागि सिङ्गापुर गएका थिए। त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा उनी हङकङ पुगेका थिए।

करिब पाँच महिना लामो विदेश बसाइका क्रममा उन र उनकी पत्नी आरजु राणामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको विषयसमेत सार्वजनिक भएको थियो।

स्वदेश फर्किएलगत्तै देउवाले साउन २९ गतेदेखि काठमाडौंमा आयोजना हुन लागेको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त भेलाका संयोजक डा. शशांक कोइरालाले देउवाले भेलाको उद्घाटन तथा सम्बोधन गर्ने पुष्टि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *