कांग्रेस महाधिवेशनसम्बन्धी र माधव नेपालका सम्धीको रिट अनिल सिन्हाको इजलासमा

डिसी नेपाल
२४ भदौ २०७८ १२:१७
160
Shares

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन र नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुन पाउनुपर्नेसम्बन्धी दुइटा रिट पेसीमा चढाएको छ।

नेपाली कांग्रेसको मंसिरमा तोकिएको महाधिवेशन रोक्ने प्रदेश सांसद नरोत्तम वैद्यले दायर गरेको रिट र एकीकृत समाजवादीमा आबद्ध हुन पाउनुपर्ने प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय र राष्ट्रियसभा सदस्य शारदा भट्टको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसीमा चढेको हो।

बागमती प्रदेशसभा सांसद वैद्यले वडा अधिवेशन सुरु हुनु एक दिनअघि १७ भदौमा दायर गरेको रिटमा आज पालो आउने सम्भावना छ। वैद्यले माओवादी र एमालेको पनि महाधिवेशन नभएको, कोभिड महामारी कायमै रहेको, कानुनी रूपमा अझै एक वर्ष कांग्रेसको वैद्यता रहेको जिकिर गर्दै मंसिरमा तोकिएको महाधिवेशन उपयुक्त नभएकाले स्थगित गर्न अन्तरिम आदेश माग गरेका छन्।

त्यसैगरी, पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पाण्डे र कैलालीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भट्टको आज पालो आउने सम्भावना न्यून छ। सिन्हाको इजलासको पेसीमा यो मुद्दा पुछारमा छ। पाण्डे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन्।

पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टीमा सनाखतको माग गर्दै रिट दायर गरेका हुन्। उनीहरूले एमाले छाडेर आफूहरू एकीकृत समाजवादीमा गएकाले निर्वाचन आयोग, संसदीय संसद्, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई विपक्षी बनाएका छन्।

दुवैले आफूहरूले एमाले परित्याग गरेर नेकपा (एस) रोजे पनि आयोगले सनाखत नगराएको रिटमा उल्लेख गरेका छन् । सांसद पाण्डे र भट्टले एमालेको अभिलेखबाट आफूहरूलाई हटाउन र एकीकृत समाजवादीको अभिलेखमा राख्न अन्तरिम आदेश माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.