अदालतलाई कटाक्ष गर्दै विष्णु रिमालको पोस्ट, कमेन्टमा पक्ष र विपक्षको ‘दोहोरी’ बहस

डिसी नेपाल
३० भदौ २०७८ १५:२२
176
Shares

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले फेसबुकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याउने सर्वोच्च अदालतको फैसलाप्रति कटाक्ष गर्दै फेसबुकमा पोस्ट गरेपछि त्यसको कमेन्टमा समर्थक र विपक्षीको बीचमा दोहोरी शैलीमै बहस भइरहेको छ । कमेन्टमा केहीले रिमालकै शैलीमा जवाफ दिँदै एमाले अध्यक्ष ओलीसहित रिमालप्रति नै कटाक्ष गरेका छन् । केहीले भने रिमालको समर्थन गर्दै समर्थन गर्दै अहिलेको देउवा सरकारको आलोचना गरेका छन् ।

रिमालले लेखेका थिए ‘मेरो विश्वास लोकतन्त्रमा हो, लोकतन्त्रका नाममा मच्चाइने अराजकतामा हैन । मेरो विश्वास कानूनी राजमा हो, कानूनकै घोडा चढी जारी गरिने ‘हुकुम’मा हैन । मेरो विश्वास संविधान र कानूनमा हो, संविधानलाई नै शंसोधन गर्ने जाली व्याख्या र कानून विपरितको फैसलामा हैन । मेरो सम्मान न्यायमूर्तिप्रति हो, मनलाग्दी गर्ने न्यायालयका जागिरेप्रति होइन ।’

जवाफमा रामकृष्ण शर्माले रिमालकै शैलीमा उनको आलोचना गर्दै लेखेका छन् ‘मेरो विश्वास गुरू भट्टराईमा हो, कुलमान घिसिङमा होइन । मेरो भरोसा विद्या भण्डारीमा हो, अष्टलक्ष्मीहरूमा होइन । मेरो लक्ष्य यति, ओम्नी पाल्नेतिर हो, आत्महत्या गर्ने राजबंशीतिर होइन । मेरो उदेश्य गाली र तुच्छ बचन लगाउनु हो, सत्कर्म, निष्पक्षता र सम्मान होइन । मेरो हैसियत बालुवाटार र सिंहदरबार होइन, बालकोटको बार्दली हो । मेरो भिजन परिणाममुखी काम होइन, भ्रम छर्ने र स्वीच थिचेर बाटो बनाउने हो । र, मेरो भ्रम, म बाहेक अरूसँग आँखा र दिमाग नै छैन ।

टेक नारायण पौडेलले भने कमेन्टमा अहिलेको देउवा सरकारको आलोचना गरेका छन् । उनले लेखेका छन् ‘देउवाको सरकार बनेपछि यी विषय उठ्नै छोडेका छन् । १. निर्मला पन्त, २. लिम्पियाधुरा–कालापानी, ३.महंगी, ४. बालुवाटार जग्गा, ५.जयसिंह धामी, ६. कोरोनासम्बन्धी भ्रष्टाचार, ७. वाइड बडी जहाज, ८. सार्वजनिक यातायातमा बढेको २८ प्रतिशत भाडा । मानौं, यो देशमा रामराज्य वा समाजवाद आएको छ ।’

नवीन अधिकारी लेख्छन् ‘मेरो विश्वास प्रधानमन्त्रीमा हो, प्रम पद लिएर सुटुक्क खुफिया एजेन्ट भेट्नेसँग होइन । मेरो विश्वास जननिर्वाचित संसदमा हो, त्यही संसद भंग गर्ने संसद हत्यारामा होइन । मेरो विश्वास इमान्दार नेतामा हो, ‘१० अर्ब छानबिन गर्ने समय अहिले होइन’ भन्नेमा होइन । मेरो विश्वास राष्ट्रपति पदमा हो, त्यही पदमा बसी आफ्नाले जे गरेपनि हिहिहि गर्नेमा होइन । मेरो विश्वास मन्त्री पदमा हो, त्यही पदमा बसी करोडौको घुस मोलमोलाई गर्नेमा होइन ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *