एनआरएनएको केन्द्रीय उपाध्यक्षमा गुरुङको उम्मेदवारी

डिसी नेपाल
३१ भदौ २०७८ १०:१५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि व्यवसायी यमकुमार गुरुङ ‘त्रिलोक’ले केन्द्रीय उपाध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । गुरुङले ‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी दुई वर्षे (२०२१–२०२३) कार्यकालको लागि घोषणापत्रसहित उम्मेदवारी दिएका गुरुङ सन् २००६ देखि सन् २०११ सम्म एनआरएनए राष्ट्रिय समन्वय परिषद् हङकङको अध्यक्ष थिए । सामाजिक अभियन्ता समेत रहेका गुरुङ २०११ देखि सन् २०१३ सम्म एशिया प्याशिसिफ क्षेत्रीय संयोजक हुँदै सन् २०१३ देखि सन् २०२१ सम्म सल्लाहकार थिए ।

उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले गैरआवासीय नेपालीहरुले नेपाली नागरिकताको निरन्तरता, नयाँ युवाहरुको सहभागिता, महिला सशक्तिकरण, कोरोना भाइरसका कारण प्रभावित क्षेत्रमा सहयोग, वैदेशिक रोजगारको व्यवस्था, संघमा प्रणालीको सुधार, नेपालमा लगानीमैत्री वातावरण र भूतपूर्व गोर्खा सैनिकहरुको हक अधिकारका लागि दबाव सृजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एनआरएनएको अभियानमा लामो समयदेखि सक्रियपूर्वक लाग्दै आएका गुरुङलाई एनआरएनएमा काम गर्ने व्यक्तिको अभाव भएको भन्दै नेतृत्व तहमा आउन प्रतिनिधिहरूले नै दबाब र सुझाव दिंदै आएका थिए। एनआरएनएमा सक्षम, इमान्दार र योगदान गरेको व्यक्तिको आवश्यक रहेको भन्दै गुरुङ राम्रा र काम गर्न सक्ने व्यक्तिहरु नेतृत्व तहमा आउनुपर्ने धारणा राख्छन् ।

एनआरएनए हङकङको दुई पटक अध्यक्ष हुँदै एसिया प्यासिफिकको संयोजक, आइसिसी सल्लाहकारको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका गुरुङले एनआरएनएको लाप्राक प्रोजेक्टमा महत्वपूर्ण योगदान पुर्याएका थिए । गुरुङले लाप्राकमा नमूना वस्ती निर्माणमा आफै ९ पटकसम्म पुगेर स्वयंसेवकको भूमिका निर्वाह मात्र गरेनन्, लाखौं रकम सहयोग समेत गरे ।

त्यसैगरी, एशिया क्षेत्रबाट पनि गुरुङले २५ लाख रकम उठाएर लाप्राक पुर्याएका थिए । त्यतिमात्र होइन् समाजसेवी गुरुङले भारतको अघोषित नाकावन्दीका बेला जनकपुर अस्पताललाई ७ लाख बराबरको औषधी प्रदान गरेका थिए ।

गुरुङले एनआरएनए चाइना र हङकङसँग सहकार्य गरी नेपालमा ब्लड ट्रान्समिसन (रक्त प्रशारण) ब्याग प्रदान गरेर उदाहरणीय काम गरेका थिए । गुरुङले पछिल्लो समय नेपालमा स्याउ फार्म, बायोग्यासदेखि सोलारसम्ममा लगानी गरेका छन् ।

गोर्खा एकता इन्टरनेशनल ग्रुपमार्फत् हङकङ र मकाउमा निर्माण तथा सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका गुरुङ जब मुलुकलाई संकट पर्छ, त्यतिबेला पीडितसमक्ष पुगेर उनीहरुको पीडालाई राहत प्रदान गरी उनीहरुको घाउमा मलम लगाउन तत्पर भइहाल्छन् ।

उनको यो कामले एनआरएनएको गरिमालाई मात्रै बढाएको छैन, नेपालमा बैदेशिक लगानी भित्राएर नेपालको आर्थिक वृदिदर बढ्नमा सहयोग पुगिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *