एनआरएनएको अध्यक्ष पदमा रविना थापाको उम्मेदवारी

डिसी नेपाल
८ असोज २०७८ १२:५०

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आइसिसी) को आसन्न निर्वाचनको अध्यक्ष पदका लागि वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी रविना थापाले उम्मेदवारीको घोषणा गरेकी छन् । उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणासँगै थापा एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने दोस्रो महिला भएकी छन् । उनले उम्मेदवारीको घोषणाका क्रममा गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएकी छन् ।

एनआरएनएमा महत्वपूर्ण एजेन्डाको रुपमा रहेको नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाएउने थापाले बताएकी छन् । उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बनाएकी छन् । सर्वोच्च अदालतले विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन् ।

‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिट्यान्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो’ उनले भनिन्, ‘दोहोरो करका सम्बन्धमा पनि गैरआवासीय नेपालीले करमा छुट पाउनु पर्छ ।’

थापाले वर्तमान कार्यसमितिमा एनआरएनएका सबै सदस्यले नेतृत्व चुन्न पाउनु पर्ने माग गरे पनि अल्पमतमा पारिएको बताइन् । उनले भनिन्, ‘संघमा अहिले १ लाख ५ हजार सदस्य छन्, उनीहरू सबैले नेतृत्व चयनमा मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरे । अब निर्वाचित हुने मेरो नेतृत्वले सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछु ।’

विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कुती, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडी रहन नागरिकताको विषयमा सबै गैरआवासिय नेपालीले आवाज उठाउनु पर्ने थापा समूहको भनाई छ ।

नेपालमा लगानी गर्ने विषय सबै गैरआवासिय नेपालीको साझा नारा भएको भन्दै विदेशका साना साना लगानीलाई ल्याएर समूहमा लगानी गर्ने योजना रहेको उनले बताइन् ।

विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना थापाको रहेको छ । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउन सकिने उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *