जब छातीमा एके–४७ र एम–४ राइफल बोकेका तालिवान लडाकु ‘यो हो अफगानिस्तान’ भन्दै चिच्चाए…

डिसी नेपाल
१४ असोज २०७८ ९:५५
4.6k
Shares

काबुल। अफगानिस्तानका सशस्त्र तालिवान लडाकु राजधानी काबुबाहिर रहेको एउटा मनोरन्जन पार्कस्थित एउटा तालमा डुंगामा सयर गरेर रमाएका तस्विर तथा भिडियोहरु सार्वजनिक भएका छन्।

राजधानी काबुल कब्जा गरेको डेढ महिनापछि तालिवान लडाकु पार्कमा मनोरन्जन गरेको, शारीरिक अभ्यास गरेको र तालमा डुंगा खियाएका रमाइला भिडियो र तस्विर वेलायती सञ्चारमाध्यम डेली मेलले सार्वजनिक गरेको हो।

भिडियोमा हातमा बन्दूक बोकेका एक तालिवान लडाकु डुंगामा सयर गर्दै ‘यो हो अफगानिस्तान,’ भनेर चिच्चाएको आवाजले धेरैको ध्यान तानेको छ । त्यसपछि सोही डुंगामा रहेका अन्य लडाकु पनि मज्जाले हाँसेको सुन्न सकिन्छ।

छातीमा एके–४७ र एम–४ राइफल बोकेका लडाकूहरुमध्ये कोही तालको किनारमा घुम्दै समय व्यतित गरेका देखिन्छन्। १८ देखि ५२ वर्षका लडाकु काबुलबाहिर रहेको क्वारघह आरक्षणनजिकको एउटा मनोरन्जन पार्कमा रमाइरहेका थिए।

पार्कमा उनीहरू रमाएको दृश्य आमअफगानीका लागि विल्कुलै नौलो थियो । तालिवानले सत्ता कब्जा गरेपछि देशमा पहिलेजस्तै तानाशाही शासन फर्कन सक्ने कतिपय अफगानीको चिन्ता छ।

सन् १९९६ मा पहिलो पटक सत्तामा हुँदा तालिवानहरुले सार्वजनिक रूपमा गीत गाउन, तस्विर खिच्न, टेलिभिजन तथा फिल्ममा प्रतिबन्ध लगाएका थिए। उनीहरूले बच्चालाई चंगा खेल्नसमेत रोक लगाएका थिए। तालिवानले पहिलेभन्दा अहिले सबैजनालाई सहज हुने शासन व्यवस्था कायम गर्ने प्रतिबद्धता जनाए पनि महिलामाथि विभिन्न प्रतिबन्ध लगाएका छन्।

तालिवानले अन्य व्यवस्था नहुन्जेल भन्दै विश्वविद्यालयमा महिलालाई नजान भनेका छन् । त्यस्तै, पुरुषलाई पश्चिमा शैलीमा दाह्री नकाट्न उर्दी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *