पश्चिम बङ्गालका पूर्वउपसभामुख आशिष बनर्जी मृत भेटिए
काठमाडौं । ममता बनर्जी सरकारमा मन्त्री तथा पश्चिम बङ्गाल विधानसभाका पूर्वउपसभामुख रहेका तृणमूल कांग्रेसका वरिष्ठ नेता आशिष बनर्जी आइतबार बिहान आफ्नै निवाससँगै जोडिएको पार्टी कार्यालयमा मृत फेला परेका छन्।
उनी पश्चिम बङ्गालको बीरभूम जिल्लाअन्तर्गत रामपुरहाट संसदीय/विधानसभा क्षेत्रबाट लगातार पाँच पटक विधायक (सांसद) निर्वाचित भएका थिए। प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार कोठाभित्र उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।
हाल उनको मृत्युको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ। प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा ‘सुसाइड नोट’ पनि फेला परेको छ। तर, अधिकारीहरूले त्यसबारे विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।
तत्कालका लागि शवलाई परीक्षण (पोस्टमार्टम) का लागि पठाइएको छ।आशिष सन् २००१ देखि सोही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए। तर, यस वर्षको चुनावमा भने उनले भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार ध्रुव साहासँग हार बेहोर्नुपरेको थियो।
आशिष बनर्जी ममता बनर्जीको मन्त्रिपरिषद्मा स्कूली शिक्षा र कृषि मन्त्री भइसकेका थिए। सन् २०२१ मा उनलाई पश्चिम बङ्गाल विधानसभाको उपसभामुख बनाइएको थियो।
बर्दवान विश्वविद्यालयबाट बङ्गाली विषयमा विद्यावारिधि (पीएचडी) गरेपछि आशिषले रामपुरहाट कलेजमा प्राध्यापनबाट आफ्नो करियर सुरु गरेका थिए। पछि उनी सक्रिय राजनीतिमा प्रवेश गरे। उनलाई तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीको निकै नजिकका नेता मानिन्थ्यो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment