तीन जना इरानी पाइलट कतारको कब्जामा रहेको इरानको दाबी, के भन्छ कतार ?

डिसी नेपाल
३१ साउन २०८३ १०:३८

काठमाडौं । इरानी सशस्त्र बलको जनरल स्टाफअन्तर्गत बेपत्ता व्यक्तिहरूको खोजी समितिका प्रमुखले तीन जना इरानी पाइलटहरू कतारको हिरासत (कब्जा) मा रहेको दाबी गरेका छन्। उनले ती पाइलटहरूको अवस्था स्पष्ट पार्न सहयोगका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समितिसँग अपिलसमेत गरेका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकरजादेहले आईसीआरसीकी अध्यक्ष मारियाना स्पोल्यारिकलाई लेखेको पत्रमा दुई वटा ‘सुखोई-२४’ लडाकु विमान गत २०२६ मार्च २ मा कतारमा रहेको एउटा ‘शत्रु सैन्य अड्डा’लाई लक्षित गर्ने मिसनमा पठाइएको उल्लेख गरेका छन्।

उनका अनुसार मिसन पूरा गरेर फर्कने क्रममा विमानहरूले शत्रुको कारबाहीको सामना गर्नुपरेको थियो, जसका कारण चार जना इरानी पाइलटहरू प्रभावित भएका थिए। ती चार पाइलटमध्ये एक जना माजिद काजेमीको शव पछि इरान ल्याइएको थियो र उनलाई अगस्ट २९ मा सिराजमा अन्त्येष्टि गरिएको थियो।

ब्रिगेडियर जनरल बाकरजादेहले बाँकी तीन जना पाइलटहरू जवाद सालेही, अब्दुलमजिद दस्तियान र इमरान बहरू सियानलाई कतारी सेनाले जीवितै नियन्त्रणमा लिएको दाबी गरेका छन्।

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले इरानको यो दाबीलाई पूर्ण रूपमा खारेज गरेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस क्षेत्रमा तनाव कम गर्न कूटनीतिक प्रयासहरू जारी रहेका बेला “यस्तो समयमा आएका भ्रामक बयानहरू” लाई लिएर आफूलाई निकै अचम्म लागेको बताएका छन्।

माजिद अल-अन्सारीले सामाजिक सञ्जाल एक्समा एउटा विज्ञप्ति जारी गर्दै गत मार्चमा कतारको हवाई क्षेत्रको उल्लङ्घन भएपछि आफूहरूले इरानी पाइलटहरूसँग सम्पर्क गरेको र उनीहरूको उडान मार्गको पुष्टि गरेको बताए।

उनका अनुसार पाइलटहरूका तर्फबाट सन्देशहरूको कुनै जवाफ नआएपछि कतारले “सङ्घर्षका नियमहरू र अन्तर्राष्ट्रिय कानुनको मापदण्डअनुसार” आफ्नो रक्षाका लागि कारबाही गरेको थियो।

उनले थप भनेअनुसार कतारको खोजी तथा उद्धार टोलीले ती पाइलटहरूको खोजीका लागि विशेष अभियानसमेत चलाएको थियो।

प्रवक्ताका अनुसार एक जना पाइलटको शव बरामद भएको थियो र उनलाई इरानलाई हस्तान्तरण गर्नका लागि कतार सरकारले तेहरानसँग सम्पर्क पनि गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *