लखिमपुर खिरी किसान हत्याकाण्डका आरोपी नेपालमा !

डिसी नेपाल
२३ असोज २०७८ ९:४७

काठमाडौं । भारतमा नेपालको सीमा नजिकै टिकापुरको पारिपट्टि लखिमपुर खिरी जिल्लामा किसानको भिडमाथि गाडी दौडाएर किसानहरुको हत्या गरेको आरोप लागेका आरोपी आशिष मिश्रा शुक्रबार पुलिसको अगाडि सोधपुछका लागि उपस्थित भएनन् । केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशिष मिश्रालाई सोधपुछका लागि उपस्थित हुन पुलिसले एक दिन पहिले मात्र नोटिस जारी गरेको थियो ।

यो नोटिस मन्त्रीको निवासको भित्तामा टाँसिएको थियो जसमा ८ अक्टोबर बिहान १० बजे आशिषलाई लखिमपुर खिरी पुलिस लाइनमा उपस्थित हुन भनिएको थियो । आशिष फरार भएसँगै उनी नेपाल आएर लुकेर बसेको दावी गरिएको छ । भारतीय मिडिया रिपोर्टमा उनी सीमा पार गरेर नेपाल आएर लुकेको दावी गरिएको छ । लखिमपुर खिरी जिल्ला नेपालसँग सीमा जोडिएको जिल्ला हो र घटनास्थलबाट नजिकै सीमा पारी नेपालको कैलाली जिल्लाको टिकापुर पर्छ ।

आशिष मिश्राका आफन्तहरुले भने उनी लखिमपुर खिरीमै भएको दावी गरेका छन् । उनका एक आफन्त अभिजात मिश्राले भारतीय अखबार नवभारत टाइम्ससँग कुरा गर्दै उनी लखिपुरमै भएको र जाँचमा सहयोग गर्ने बताएका छन् । केही मिडिया रिपोर्टमा उनी नेपाल भागेको दावी गरिएपछि समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले यो मामिलामा भारतसरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *