बंगलादेशमा दुर्गा पूजामा हिन्दूमाथि हमलाः धार्मिक हिंसा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा

डिसी नेपाल
३० असोज २०७८ १६:२४

ढाका । बंगलादेशमा हिन्दु मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ। मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दुको आस्थामाथि भएका हमलामा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो। सरकारले सबै देशवासी र धर्मावलम्बीलाई संयमित हुन आग्रह गरेको छ।

यसै साता दुर्गा पूजाका क्रममा मुस्लिमहरूले हिन्दु मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चारजनाको मृत्यु भएको थियो। हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन्।

धार्मिक र साम्प्रादायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ । ‘कोमिलामा भएको घटनाको बृहत रुपमा अनुसन्धान भइरहेको छ । जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन् । दोषीलाई कडा कारबाही हुनेछ’, ढाकस्थित दक्षेश्वरी हिन्दु मन्दिरमा हिन्दूहरूलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री हसिनाले भनिन्।

यसैबीच, दुर्गा पूजा मनाउने क्रममा हिन्दुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न बंगलादेश सरकारसँग माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *