स्वास्थ्यमा उत्कृष्ट बाँकेको डुडुवा गाउँपालिका
नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाअन्तर्गत रहेका ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य उपचार तथा स्याहारका लागि यो कार्यक्रम सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज वडा नंं २ को होलियास्थित खडैचा गाउँका ज्येष्ठ नागरिकलाई सेवा कार्ड वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरे । अध्यक्ष चौधरीले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार तथा स्याहारसहित सेवा उपलब्ध गराउन यो कार्यक्रम तय गरिएको जानकारी दिए।
ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण, एम्बुलेन्स सेवा तथा विशेषज्ञसहितको स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउने कार्यक्रमको उद्देश्य छ । गाउँपालिकाले दलित, अशक्त तथा एकल महिलाको हकमा ६० वर्ष र अन्यको हकमा ७० वर्ष पुगेका नागरिकलाई यो सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार गाउँपालिकाको वार्ड १ देखि ६ सम्म ७० वर्ष पुगेका एक हजार २७२ जना छन् भने ६० वर्षलाई समेट्दा दुई हजार १३५ जना छन् ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर सेवा कार्ड वितरण गरिएको छ भने ३० लाख बजेट विनियोजन छुट्याइएको अध्यक्ष चौधरीले बताए । केही महिनाअघि सो गाउँपालिकाको बेतहनी स्वास्थ्य चौकीमा पाँच बेडको सुविधा सम्पन्न ज्येष्ठ नागरिक उपचार तथा स्याहार केन्द्र पनि स्थापना गरिएको छ । गाउँपालिकामा आठ वटा स्वास्थ्य एकाइ छ भने तीन स्थानमा निःशुल्क प्रयोगशालामार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाले विगतका वर्षदेखि नै घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेपछि अहिले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको छ । स्वास्थ्य कार्यालय बाँकेले गरेको मूल्याङ्कनका आधारमा अहिले डुडुवा बाँके जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो भई उत्कृष्टताको पुरस्कार प्राप्त गरिसकेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment