आर्यन खानलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेका अधिकारीमाथि नै अनुसन्धान सुरु
काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका नारकोटिक्स कन्ट्रोल ब्युरोका अधिकारीमाथि नै भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु भएको छ । एनसीबीका षेत्रीय निर्देशक समीर वानखेडेविरुद्ध भिजिलेन्स विभागले भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु गरेको हो । यससँगै अब समीर वानखेडे पदबाटै बर्खास्त हुन सक्ने सम्भावना बढेको छ ।
एनसीबीका डेप्युटी निर्देशक जनरल ज्ञानेश्वर सिंहका अनुसार समीर वानखेडेमाथि लागेको भ्रष्टाचारको आरोपको भिजिलेन्स जाँच भइरहेको छ । उनी आफ्नो पदमा कायम रहन्छन् वा रहँदैनन् भन्ने विषयमा अहिले केही भन्न नसकिने सिंहले बताए । एनसीबी मुम्बइका निर्देशक वानखेडे भोलि मंगलबार दिल्ली जाँदैछन् । दिल्लीको एनसीबी मुख्यालयमा उनको विषयमा छलफल समेत भएको छ ।
ज्ञानेश्वर सिंहका अनुसार जारी जाँचको उनी स्वयंले निरीक्षण गरिरहेका छन् । एनसीबीको मुम्बइ कार्यालय र त्यहाँका प्रमुख वानखेडेविरुद्ध लागेको आरोपबारे मुम्बइ एनसीबीले एनसीबीका महानिर्देशकलाई इमेलमार्फत रिपोर्ट बुझाएका छन् । जानकारीअनुसार दिल्लीमा समीर वानखेले कुनै रिभ्यु बैठकका लागि जाँदैछन् । यस क्रममा महानिर्देशक सत्य नारायण प्रधानले समीरसँग एनसीबीमाथि लागेका आरोपबारे कुरा गर्नेछन् ।
आइतबार समीर वानखेडेमाथि आरोप लागेपछि एनसीबीले सेसन अदालतमा नयाँ एफिडेविट दायर गरेको छ । यसमा समीरले आफूलाई केसको सुरुदेखि निशाना बनाइएको दावी गरेका छन् । समीरले अदालतमा भनेका छन् ‘मेरो परिवार, मेरी मृतक आमा, पितालाई निशाना बनाइँदैछ ।’ उनले जाँचलाई प्रभावित पार्ने कोसिस भइरहेको र आफ्नो छवि समेत खराब गर्ने कोसिस भइरहेको दावी गरेका छन् ।
क्रुज पार्टीसँग सम्बन्धित ड्रग्स केसको क्रममा जुन छापा मारिएको थियो र शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीले पक्राउ गरेको थियो त्यो छापालाई महाराष्ट्रका मन्त्री नवाब मलिकले फर्जी भनेका थिए । त्यसपछि यो केसका स्वतन्त्र गवाह प्रभाकरले यो भ्रष्टाचारको मामिला भएको बताएका थिए । यसमा उनले २५ करोड रुपैयाँ मागिएको आरोप लगाएका थिए । उनले आफूलाई एनसीबीले खाली कागजमा हस्ताक्षर गराएको समेत आरोप लगाएका थिए ।
Facebook Comment