बाढीपीडित किसानको प्रश्न : पाकिसकेको धान खेत अहिले बगर भयो, हामी एक वर्ष के खाएर बाँच्ने ?

डिसी नेपाल
१२ कार्तिक २०७८ ११:३१
64
Shares

झापा। गौरीगञ्ज-१ हुकलबारीका हरि थेबेको मुख्य आम्दानीको स्रोत नै कृषि हो। कृषि पेसामा निर्भर थेबेले पाँच बिघा क्षेत्रमा धान, आलुलगायत बाली लगाएका थिए। खेतीका लागि करिब डेढ लाख खर्च भएको थियो । धान पाक्न लागेको धान खेती अहिले बगर बनेको छ।

कात्तिक पहिलो साता आएको बेमौसमी बाढीले उनको पाँच बिघा खेतमा माई नदी कुदिरहेको छ। खेती गर्दाको डेढ लाख ऋण त्यसै छ। ‘हाम्रो त जागिर पनि छैन। खेती गरेर नै परिवार पाल्दै आएका छौँ । छोराछोरी पढाउँदै आएका छौँ । ऋण गरेर खेती गरेको थिएँ,’ थेबे भन्छन्, ‘पाँच विघामा खेती गर्न डेढ लाख खर्च भयो । सबै ऋण छ । अब कसरी तिर्ने ?’

विघौँ जग्गा अहिले माई नदीको कब्जामा भएपछि किसान चिन्तामा छन् । राज्यले बेलैमा तटबन्ध नगर्दा किसान अब के खाने भन्ने चिन्तामा छन् । ‘साहुले खेती सकियो भन्दा ऋण मिनाहा गर्दैनन् । खाने पनि यही खेती हो, हाम्रो त । खेती हेर्दा अहिले विरक्त लाग्छ । पाकिसकेको धान खेत अहिले बगर भयो । कात्तिकमा यस्तो त सोचेका पनि थिएनौँ,’ थेबे भन्छन्, ‘घरबाट त केही दिन बाढीले विस्थापित गर्‍यो । तर, अब त यो ठाउँबाट नै विस्थापित होइन्छ कि भन्ने डर छ । अब यो वर्ष के खाएर बाँच्ने ?’

हुकलबारीका टेकबहादुर रसाइलीले दुई बिघामा धान लगाएका थिए । धान राम्रो फलेको थियो । यस वर्ष धान बेचेर भएको ऋण तिर्ने सपना बुनेका थिए, टेकबहादुरले । तर, नसोचेको बज्रपात उनीमाथि परेको छ । नसोचेको समयमा आएको बाढीले घर त डुबानमा पार्‍यो नै खेती बगर पनि भयो । खेती गर्न लिएको ९० हजार ऋण अझै तिर्न सकेका छैनन्, उनले ।

घरमा जमेको लेदो पन्साएर घर फर्किए, टेकबहादुर । तर, अब के खाने भन्ने चिन्ता छ । जोहो गरेर राखेको खाद्यन्न पनि बाढीले नष्ट गर्‍यो । उत्पादन गरेको धान पनि बाढीसँगै बग्यो । ‘हामी सधैँका पीडित । कहिले असार-साउनमा बाढी आएर खेती गर्न दिँदैन । कहिले उब्जनी भएको खेत यसरी बगाउँछ । हामी किसानको समस्या कसले बुझ्ने ?,’ उनी भन्छन्, ‘यसपटक चाहिँ राज्यले केही सहयोग गर्छ कि भन्ने आस छ । त्यही पनि के हुने हो थाहा छैन ।’

खाने माध्यम खेत नै बगर भएपछि अब कसरी जीवन चलाउने भन्ने चिन्तामा छन्, बाढीपीडित टेकबहादुर । भारत रोजगारीका लागि भएर भए पनि खेती गर्दाको ऋण र एक वर्ष खाने जोहो गर्ने योजनामा छन्, उनी । ‘अब कि यहीँ जनमन गरेको खान्छु । तर, यहाँ जनमन र मजदुरी गरेकोले के पुग्छ होला र ! साहुले यस्तो भयो भन्दा मान्दैनन्, पेट ले पनि घरमा खाना छैन भन्दैनन्,’ टेकबहादुर भन्छन्, ‘चोरेर/डाँटेर खानु हुँदैन । अब भारत गएर कमाएर ल्याएर भए पनि खानुपर्ला नि !’

गौरीगञ्ज-१ का श्यामलाल कोचले एक बिघामा खेती गरेका थिए । जग्गाको नाममा त्यही एक बिघा खेत छ । भत्कन लागेको घर यही खेतमा उब्जाउ भएको धान बेचेर मर्मत थर्ने योजनामा थिए, उनी । तर, उनको सपना चकनाचुर भएको छ । ‘फुसको छानो भएको घर बाढीले झनै बिगारेको छ । भएको सबै खेत बगर भयो । अरू काम पनि पाइँदैन,’ उनी भन्छन्, ‘अब के गर्ने होला ? हामी गरिबमाथि नै किन यस्तो पर्छ ?’

गौरीगञ्ज-१ टप्पुबस्तीका बुद्धराय हेमरमले अँधियामा पाँच विघा खेती गरेका थिए । सुकुम्बासी बुद्धरायले गरेको खेती अहिले माई नदीको बगरमा परिणत भएको छ । त्यति मात्र हैन उनको घर माई नदीले बस्नै नहुने गरी क्षतविक्षत बनाएको छ । कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ ।

‘अलिअलि राखेको अन्न पनि बाढीले लग्यो । अब कहाँ बस्ने के खाने भन्ने चिन्ता छ । हिजोसम्म अँधिया गरेर भए पनि राम्रै खाएका थियौँ । तर, अब त के खाने ?,’ उनी भन्छन्, ‘हामी सुकुम्बासीको कहीँ केही छैन । अब कहाँ गएर बस्ने ? यो ठाउँ त अब बगर भएको छ । सरकारले खोला तठबन्ध गर्‍यो भने घर फर्किन सकिन्छ । नभए त फेरि ठूलो पानी पर्दा बाढी यतै आउँछ । सरकारले हाम्रा लागि केही गरे त हुने नि !’

गौरीगञ्ज-१ को नदी तटीय क्षेत्र सधैँ बाढी र डुबानको चपेटामा पर्दै आएका छन् । यहाँका स्थानीय प्रत्येक वर्ष बर्खाको समयमा विस्थापित हुने गरेका छन् । यस क्षेत्रका किसानले कहिले खेती लगाउन पाउँदैनन् त कहिले लगाएको खेती पनि उठाउन पाउँदैनन् । न्युज कारखाना


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *