अमेरिकाको एक शहर जहाँ पानी विषालु भएको छ

डिसी नेपाल
१५ कार्तिक २०७८ १२:३३
720
Shares

काठमाडौं। अमेरिकाको मिशिगनका अधिकारीहरुले केही हप्ता पहिले एक आपतकालीन घोषणामा बेंटन हार्बर शहरका बासिन्दालाई घरमा धारामा आउने पानीको प्रयोग खाना बनाउन, तरकारी पखाल्न र ब्रस गर्नको लागि नगर्न आग्रह गरेका थिए । अमेरिकाको शिकागो शहरबाट केही दूरीमा रहेको बेंटन हार्बरमा कम्तीमा विगत तीन वर्षदेखि हालत यस्तो भएको छ कि जहाँ आपूर्ति गरिएको पानीको प्रयोग गर्नु भनेको रोग निम्त्याउनु भएको छ ।

यहाँ पाइपबाट आउने पानीमा सिसाको मात्रा अधिक भएको छ । बेंटर हार्बर सामुदायिक पानी परिषदका अध्यक्ष रेभरेन्ड एडवर्ड पिंकनेले बीबीसी वर्ल्डसँग भने ‘२०१८ देखि नै यो इलाकाका जल आपुर्तिमा सिसाको माधा निकै धेरै भएको पाइएको छ । यो खतरनाकको स्तरभन्दा धेरै बढी छ । तर, यसको उपयोगमा अहिलेसम्म रोक लगाइएको थिएन ।’

२०१८ मा प्रकाशित आंकडाअनुसार यो क्षेत्रको पानीमा सिसाको मात्रा २२ पार्ट प्रतिअर्ब छ । यो जनवरीदेखि जून २०२१ मा बढेर २४ पार्ट प्रतिअर्ब भएको छ । केही घरहरुमा यसको मात्रा ४०० देखि ८८९ पार्ट प्रतिअर्ब पनि देखिएको छ । अमेरिकामा पिउने पानीमा सिसाको मात्रा १५ पार्ट प्रतिअर्बभन्दा धेरै हुनु असामान्य मानिन्छ ।

मिशिगनमा पानीको गुणस्तरका विज्ञ इलिन वारेन बेटान्जो भन्छन् ‘मानिसको प्रयोगको लागि उपलब्ध गराइएको पानीमा सिसाको उपस्थितिमा कडा प्रतिबन्ध छ त्यसकारण बेंटन हार्बरमा पाइने स्टर निकै चिन्ताजनक छ भन्न सकिन्छ ।’ यो मात्रा यहाँबाट ३ घण्टाको दूरीमा रहेको छिमेकी शहर फ्लिन्टभन्दा धेरै नै बढी छ जहाँ २०१४–१५ मा पानीमा सिसाको मात्रा २० पार्ट प्रतिअर्ब पाइँदा विश्वभर चर्चाको विषय बनेको थियो ।

पिंकने भन्छन् ‘यो यस्तो समस्या हो जसको बारेमा हामी सबैले सोच्नुपर्छ । हामी विश्वको सबैभन्दा धनी देश हौं तर यहाँ यस्ता ठाउँ पनि छन् जहाँ पिउनको लागि स्वच्छ पानी पनि उपलब्ध छैन । हामीकहाँ यस्तो जल आपूर्ति छ जसको प्रयोग ब्रस गर्नको लागि गर्न सकिन्न । हामी आफ्ना बच्चाको लागि दूध समेत तयार गर्न सक्दैनौं । यस्तो लाग्छ हामी कुनै पिछडिएको देशमा बसिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *