आफ्नो केन्द्रीय बैंकको पैसा फुकुवा गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई तालिबानको अपिल
काठमाडौं। अफगानिस्तानको सत्ताधारी संगठन तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो देशको बैंक रिजर्भलाई फुकुवा (अनफ्रिज) गरिदिन अपिल गरेको छ । तालिबान सरकारले आफ्नो देशमा अहिलेको मानवीय संकटसँग जुध्नको लागि भन्दै आफ्नो बैंक रिजर्भ फुकुवा गर्न आग्रह गरेको हो । गएको अगष्टमा अफगानिस्तानको निर्वाचित सरकारको पतन भएर तालिबानको हातमा सत्ता आएपछि अमेरिकाले अफगानिस्तानको अरबौं डलरको सम्पत्ति फ्रिज गरिदिएको थियो ।
तालिबानको अर्थ मन्त्रालयका प्रवक्ता अहमद वली हौमलले भने ‘अफगान सम्पत्तिलाई बिना कुनै शर्त रिलिज गरिनुपर्छ । कुनै देशको भण्डारलाई फ्रिज गर्नु अन्तर्राष्ट्रिय कानुनको विरुद्ध हो । अफगान जनताविरुद्ध भइरहेको क्रुरताको यो उदाहरण हो ।’ उनले जम्मा गरिएको पैसा इस्लामिक इमिरेटको सम्पत्ति नभएको बताउँदै यो पैसा आवश्यकतामा भएका जनता र व्यापारीहरुको धन भएको बताए ।
टोलो न्यूजको रिपोर्टअनुसार आइतबार अफगान उद्योगपति र व्यापारीहरुले अफगानिस्तानको रिजर्भलाई फ्रिज गरिदिएको विरोधमा जुलुस निकालेका छन् । उनीहरुले मौजुदा आर्थिक संकटले अफगानिस्तानलाई मात्रै नभइ अरु देशहरुलाई पनि नोक्सानी गर्ने भएकोले यो प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । एक उद्योगपति मोहम्मद शाहबले भने ‘यदि देशको रिजर्भ अनफ्रिज गरिएन भने अपराध बढ्नेछन् । साथमा अफीमको खेती र ड्रग्सको तस्करी बढ्नेछ जसबाट अफगानिस्तान र अन्य देशलाई नोक्सानी हुनेछ ।’
कानवअधिकार कार्यकर्ता जरका यफ्ताली भने बैंक रिजर्भ अनफ्रिज गर्ने कुराको विपक्षमा छिन् । उनले यो पैसा जारी नगरिने बताइन् । उनका अनुसार यदि इस्लामिक अमिरातले शर्तहरु लागू गरेन भने विश्वले नयाँ सरकारलाई मान्यता दिने छैन । बैंकको रिजर्भ जारी गर्नको लागि केही शर्तहरुको पालना गर्नुपर्छ । मानवअधिकारको सम्मान गर्ने, महिलालाई शिक्षा र कामको अधिकार दिने जस्ता मूलभूत शर्तहरु पूरा हुनुपर्छ ।
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार अफगानिस्तानको केन्द्रीय बैंकको करिब १० अर्ब डलर फ्रिज भएको छ । यो रकममध्ये धेरैजसो न्यूयोर्कमा फेडरल रिजर्भ बैंकसँग छ । अफगानिस्तानको केन्द्रीय बैंकको करिब ७ अर्ब डलरको रिजर्भ फेडरल रिजर्भ बैंक अफ न्यूयोर्कसँग छ । यसबाहेक १ अर्ब ३ करोड डलर अन्तर्राष्ट्रिय खातामा छ जसमध्ये केही रकम युरो र ब्रिटिस पाउण्डमा छ ।







डिसी नेपाल







Facebook Comment