मोदीको पर्सी केदारनाथ जाने कार्यक्रमको विरोध, मन्दिरका पुरोहितहरु नै विरोधमा उत्रिए
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पर्सी केदारनाथ जाने कार्यक्रमको विरोध सुरु भएको छ । प्रधानमन्त्रीको यात्रालाई लिएर मन्दिरका पुरोहितहरुले विरोध गरिरहेका छन् । त्यसपछि बुधबार उत्तराखण्डका मुख्य मन्त्री पुष्कर सिंह धामी पुरोहितहरुलाई मनाउन केदारनाथ धाम पुगेका छन् । भारतीय मिडियाका अनुसार धामीले लामो समयसम्म बन्द कोठाभित्र पुरोहितहरुसँग कुरा गरेका छन् ।
२ दिन पहिले उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र मन्त्री धन सिंह रावतसहित बीजेपीका प्रदेश अध्यक्षको केदारनाथमा ठूलो विरोध भएको थियो । पूर्व मुख्यमन्त्री रावतलाई पुरोहितहरुले दर्शन गर्न समेत दिएका थिएनन् । त्यसपछि पुरोहितहरुले प्रधानमन्त्री मोदीको भ्रमणको पनि विरोध गर्ने फैसला गरेका थिए । त्यतिबेलादेखि नै उत्तराखण्ड सरकार आत्तिएको छ । पुरोहित र पंडा समाजको विरोधका कारण आज मुख्यमन्त्री केदारनाथ गएर पुरोहित समाजसँग कुरा गरेका हुन् ।
खासमा २०२० को जनवरीमा त्रिवेन्द्र सिंह रावतको सरकारले चारधाम देवस्थानम बोर्ड गठन गरेको थियो । यससँगै चारधाम सहित ५१ अन्य मन्दिरको नियन्त्रण राज्य सरकारकहाँ आएको थियो । उत्तराखण्डमा केदारनाथ, गंगोत्री, यमुनोत्री र बद्रीनाथ चार धाम छन् । त्यतिबेलादेखि नै पुरोहित र पंडा समाजले यो फैसला फिर्ता लिन माग गरिरहेका छन् ।
धामीले मुख्यमन्त्री बन्नासाथ एक कमिटीको गठन गरेर रिपोर्टका आधारमा फैसला गर्ने प्रतिबद्धता जनाएका थिए । तर, निर्धारित मिति ३० अक्टोबरसम्म पनि कुनै फैसला नभएपछि फेरि देवस्थानम बोर्डको मुद्दा चर्कियो । पुरोहितहरुले आन्दोलन सुरु गरे । पुरोहितहरुले यही आन्दोलनको क्रममा प्रधानमन्त्रीको भ्रमणको समेत विरोध गर्ने फैसला गरेपछि उत्तराखण्ड सरकार तर्सिएको छ ।







डिसी नेपाल







Facebook Comment