अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति जिनपिङबीच अर्को हप्ता बैठक
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच अर्को हप्ता एक भर्चुअल बैठक हुन सक्नेछ । समाचार एजेन्सी रोयटर्सले एक सूत्रको हवाला दिँदै यो खबर दिएको हो । यद्यपि ह्वाइट हाउस र वाशिङटनमा चीनको दूतावासका प्रवक्ताले तय मितिको पुष्टि गर्न अस्वीकार गरेका छन् ।
बाइडेन प्रशासनको सुरुवाती समयमा चीनसँग भएको कूटनीतिज्ञ स्तरको वार्ता धेरै सफल रहेको थिएन । साथमा अमेरिकी अधिकारीहरु पनि कुनै मध्यस्थता बिना सिधै शी जिनपिङसँग वार्ताबाट विश्वका २ सबैभन्दा ठूला अर्थव्यवस्था भएका देशहरुबीच जारी संघर्षलाई रोक्न सकिन्छ भन्ने मान्छन् ।
यसअघि दुवै देशहरुको तर्फबाट बताइएको थियो कि गत महिना ज्युरिखमा अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभान र चीनका शीर्ष कूटनीतिज्ञ यांगबीच भएको भेटघाटको क्रममा नै यी दुई शीर्ष नेताहरुको भर्चुअल बैठकको रुपरेखा तय गरिएको थियो ।
तर, एकातिर ह्वाइट हाउसको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन भने अर्कोतर्फ गत सोमबार ह्वाइट हाउसका डेप्युटी प्रेस सेक्रेटरीसँग यसबारेमा सोधिँदा उनले दुई नेताहरुबीच यो वर्ष अन्त्य हुनुभन्दा पहिले भर्चुअल बैठक निश्चय हुने बताएका थिए ।
यो बैठकलाई निकै महत्वपूर्ण मानिएको छ किनकि एकातिर चीन र अमेरिका कोभिड महामारीका विषयमा एक अर्कामाथि आरोप लगाइरहेका छन् भने परमाणु हतियारको मुद्दामा पनि दुई देश एक अर्काको आमनेसामने छ । यद्यपि बाइडेन प्रशासनले भने यो बैठकबाट धेरै अपेक्षा गरिरहेको छैन ।
अर्कोतर्फ चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले अमेरिकी सुरक्षा सल्लाहकार जेक सुलिभानको ताजा बयानलाई ‘नरम’ त भनेको छ तर साथमा चीनलाई सतर्क रहन चेतावनी पनि दिएको छ । ग्लोबल डाइम्सले चीनका विषयमा अमेरिकाको ‘दोहोरो चरित्र’सँग सावधान रहन भनेको छ । यसअघि सुलिभानले एक बयानमा बाइडेन प्रशासनले चीनको प्रणालीमा मूलभूत परिवर्तन नचाहेको बताएका थिए ।







डिसी नेपाल







Facebook Comment