धुलाम्य बन्यो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक, स्वास्थ्यमा समस्या

डिसी नेपाल
२६ कार्तिक २०७८ १७:२२

काठमाडौँ ।जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु गरेको छ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धुलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ ।

निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा खरिबोटकी राधा श्रेष्ठ आफ्नो घरअघि सधैँ पानी हाल्छिन् । सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले सुनाए । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको श्रेष्ठको गुनासो छ । आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक छ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए । यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् । नगरपालिकाले केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन । आर्थिक वर्ष २०७७/२०७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । रु ५८ करोड लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।

सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको प्रवक्ता ढुङ्गानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् । कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिच्छ्याइएको छैन । एक दिन काम भयो भने १० दिन काम रोकिने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *