सबभन्दा अग्लो पचालझरना जानको लागि पदमार्ग बनाइने
कालीकोट । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको नेपालकै अग्लो पचालझरनासम्म जानका लागि तीन करोड ३१ लाखको लागतमा पदमार्ग बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा सो पदमार्ग बन्न लागेको हो ।
गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले भने, ‘यही कात्तिक ३० गते पदमार्ग शिलान्यास गरिने कार्यक्रम रहेको छ । पदमार्ग निर्माण भए पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुनेछ ।’
मन्त्रालयले नयाँ एक सय पर्यटकीय गन्तव्यमा पचालझरनालाई पनि सूचीकृत गरेको छ । यस झरनाको लम्बाइ ३ सय ८१ मिटर भएको बताइए पनि प्राविधिक जाँच भने गरिएको छैन । २०७४ सालमा उक्त गाउँपालिकाले दुई दिन लगाएर पचालझरनाको उचाइ मापन गर्दा ३ सय ८१ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले बताए ।
उनले भने, ‘पचालझरनाको अध्ययन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्य सङ्घसंस्थाको संग्लनता हामीले गत वर्ष जिपिएस र अन्य विधिबाट उचाइ मापन गरेका थियौँ ।’
यो झरना नेपालकै सबैभन्दा अग्लो भएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । पचालझरनाको वास्तविक उचाइ ३ सय ८१ मिटर रहेको र यसभन्दा अघि नेपालकै अग्लो झरना मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३ सय ६५ मिटर मात्र रहेको उनको जिकिर थियो । रासस







डिसी नेपाल








Facebook Comment