सुनसान रहेको पर्यटकीयस्थलमा विदेशी पर्यटकको चहलपहल

डिसी नेपाल
२७ कार्तिक २०७८ १५:४४
44
Shares

भक्तपुर । दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झण्डै दुई वर्ष सुनसान बन्यो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवसायमा बल्ल आशा पलाउन थालेको हो ।

लामो समयपछि विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको छ । विदेशी पर्यटकको प्रमुख आकर्षण र गन्तव्य बन्दै आएको नगरपालिका क्षेत्रमा अहिले दैनिक ६० देखि ९० जनासम्म पर्यटक आउन थालेका हुन् ।

यहाँ आउनेमा भारतीय पर्यटक सबभन्दा बढी रहेकामा युरोपका पर्यटकको पनि आगमन बढ्न थालेको छ । नगरपालिकाको पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले पर्यटकबिना सुनसान बनेको भक्तपुरको सम्पदामा विदेशी पर्यटक देखिन थालेपछि रौनक बढेको बताए ।

पर्यटकको आगमन हुन थालेपछि नगरपालिकाले सुरक्षितरूपमा पर्यटन व्यवसाय सञ्चालन एवं पर्यटकलाई सुरक्षित राख्ने गरी योजना अगाडि सारेको छ । नगरपालिकाले पर्यटकलाई कोभिडबाट सुरक्षित रहने वातावरण बनाउन आवश्यक तयारी गरेको छ ।

होटल व्यवसायीसँग पनि पर्यटकलाई कोभिडबाट सुरक्षित राख्ने गरी व्यवस्थापन गर्न व्यवसायीसँग छलफल गर्दै आएको छ । यद्यपि अहिले भक्तपुर आउने पर्यटक भने धेरैजसो दिनभरि घुमेर फर्कने गरेका छन् । रात बस्ने गरी आउने पर्यटक फाट्टफुट्टमात्रै भएकाले होटल व्यवसाय भने पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

विदेशी पर्यटकबाट वार्षिक करिब २६ करोड राजस्व सङ्कलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी व्यहोर्नुपरेको छ । केन्द्रका प्रमुख लासिवाले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा करिब २६ करोड पर्यटन शुल्कबाट राजस्व सङ्कलन भएकोे थियो, कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि आव २०७७/७८ मा जम्मा २९ लाखमात्रै पर्यटन शुल्क उठ्यो, चालु आवमा भर्खर पर्यटक आउन थालेका छन् ।’

पर्यटन शुल्कबाट उठेको रकम नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिँदै उनले कोरोना भाइरसको महामारीका कारण दुई वर्षमा करोडौँ नोक्सान व्यहोर्नुपरेको उल्लेख गरे ।

पर्यटन सूचना केन्द्रका प्रमुख लासिवाका अनुसार यस वर्ष साउन महिनामा २ सय २८, भदौमा ३ सय ८०, असोजमा ९ सय ६४ र कात्तिकमा अहिलेसम्म एक हजार ९ सय २३ पर्यटकको आगमन भइसकेको छ । पर्यटक आउने सङ्ख्या बढ्दै गएको छ । पहिलो लकडाउन अगाडिसम्म भक्तपुरमा दैनिक तीन हजार र वार्षिक दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका थिए ।

नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रतिपर्यटक ५ सय र अन्य राष्ट्रका पर्यटकबाट प्रतिपर्यटक एक हजार ५ सय रुपैयाँ पर्यटन शुल्क सङ्कलन गर्दै आएको र यो नै मुख्य आयस्रोत रहँदै आएको छ ।

विगत वर्षमा यहाँ आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनका र त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशबाट आउने गरेका थिए । नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन १४ स्थानमा काउन्टर स्थापना गरेको छ ।

नगरपालिकाले भूकम्पपछि भत्किएका सम्पदाको पुनःनिर्माण गर्दै आएको छ भने कतिपय पुरिएका र गौण रहेको महत्वपूर्ण सम्पदाको पुनःनिर्माण पनि थालेको छ । जसअन्तर्गत दूधपाटीस्थित भाजु पोखरी पुनःनिर्माण भइरहेको छ भने नेपाली सेनाको क्याम्पभित्र लोप हुने अवस्थामा पुगेको रानीपोखरीे पुनःनिर्माण गरी नेपाली तथा विदेशी पर्यटकको अवलोकनका लागि खुला गर्ने तयारी छ ।

नेपालमा अंग्रेजी महिनाको अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई हप्तालाई पर्यटकीय याम मानिँदै आएको छ । अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटक क्रिसमस मनाउन डिसेम्बरको अन्ततिर स्वदेश फर्कने गरेका छन् ।

केन्द्रका अनुसार विगतमा नेपाल भ्रमणमा आएका करिब ३५ प्रतिशत पर्यटक भक्तपुरको सम्पदा अवलोकनका लागि आउने गरेका र तीमध्ये धेरैजसोले यहाँ तीन/चार घण्टामात्रै बिताउने गरेका थिए । पर्यटकको बसाइ लम्ब्याउन आवश्यक ठानेर नगरप्रमुख सुनिल प्रजापतिले व्यवसायीहरूसँग छलफल गर्दै विभिन्न अयोजना अगाडि सारेका थिए ।

कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि त्यस्ता योजना पनि थाँती रहेका थिए । पर्यटकको आगमन बढ्न थालेपछि तीनलाई आकर्षित गर्न, बसाइ लम्ब्याउन र रात्रिकालीन पर्यटनलाई बढावा दिनेबारे कार्यक्रम ल्याउने योजना बनाइएको छ ।

दुई वर्षपछि पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको पोटरी स्क्वायरका क्यूरो व्यवसायी विनोद प्रजापतिले बताए । विदेशी पर्यटकलाई आकर्षित गर्न सरकार र स्थानीय तहले आफ्नो क्षेत्रमा विशेष योजना ल्याएमा थला परेको पर्यटन व्यवसायले पुनःजीवन पाउने उनको भनाइ थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.