मेरुदण्ड भाँचिएकी २६ वर्षीया सुनितालाई कतारका नेपालीले गरे सहयोग

डिसी नेपाल
४ मंसिर २०७८ १३:०६

तनहुँ । काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारार्थ २६ वर्षीय सुनिता थारुलाई कतारमा भएका नेपालीहरुले आर्थिक सहयोग जुटाएर पठाएका छन् । आर्थिक अभावले उपचार नपाएकी उनको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो ।

उनको सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएको थियो । करिब एक वर्ष अघि दुर्घटनामा परी घाइते थारुको उपचार खर्च नहुँदा घरमै बसिराखेकी थिइन् ।

लोक गायक एवं स्थानीय युवा समाजसेवी शङ्कर पन्तको सक्रियतामा कतारमा रहेका नेपालीलाई सहयोगको लागि आग्रह गरेपछि दुई लाख आर्थिक सहयोग प्राप्त भएको थियो । उपचारार्थ हालसम्म एक लाख २५ हजार खर्च भइसकेको पन्तले जानकारी दिए ।

कतारमा रहेर आर्थिक सङ्कलन गरेका करिम बक्स मियाँले थारुको अवस्थापश्चात् पठाइएको दुई लाखमध्ये उपचारमा खर्च भएर अब ७५ हजार रुपैयाँ खातामा बाँकी रहेको बताए । बर्दियाको न्याउलापुर घर भई हाल मजदुरी कामको सिलसिलामा तनहुँको शुक्लागण्डकी नगरपालिकामा अस्थायी रुपमा थारु परिवार बसोबास गर्दै आएको थियो ।

घाइते थारुको एक छोरीलाई कक्षा १२ सम्म शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमूनिदेव माध्यमिक विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *